चितवनमा जल चरा गणना भोलि (शनिबार)बाट सुरु हुँदै

चितवन । देशभरलगायत चितवनमा भोलिबाट जल चरा गणना सुरु हुने भएको छ । हरेक बर्ष जनवरी १ देखि १६ तारिखसम्म जल चरा गणना गरिँदै आएको छ ।
अन्तर्राष्ट्रिय संस्था वेटल्याण्ड इन्टरनेशनलले जनवरी १ देखि विश्वभर चरा गणना गर्ने काम गर्दछ ।
सोही अनुसार चितवन लगायत देशभर चरा गणना सुरु गर्न लागिएको वेटल्याण्ड इन्टरनेशलका राष्ट्रिय संयोजक चराविद् डा.हेमसागर बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार देशभरका निकुञ्ज तथा चरा संरक्षित क्षेत्रमा टोली विभाजन गरी चरा गणना सुरु गरिनेछ ।

यसैगरी, चितवनमा पनि यसको प्रक्रिया सुरु गर्न थालिएको छ । नेपाल पंक्षीविद सङ्घ वाग्मती प्रदेशका संयोजक वासु विडारीले चितवनको हकमा तीन वटा क्षेत्र र पाँच वटा समूह बनाएर जल चरा गणना सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार राप्ती नदी, नारायणी नदी तथा निकुञ्ज क्षेत्रका ताल तलैया तथा मध्यवर्ती क्षेत्रका ताल तलैया सिमसार क्षेत्रमा चरा गणना गरिदैँछ ।
चरा गणनामा चराहरूको प्रजाति , सङ्ख्या गणना गर्ने गरिन्छ । गणना गर्ने प्रक्रिया छिट्टै सकिने भएता पनि यसको प्रजाति, सङ्ख्या छुट्टाएर कुल सङ्ख्या गणना गर्न समय लाग्ने र अन्तिम गणना गरी वेटल्यान्ट इन्टरनेसलमा पठाइने विडारीले जानकारी दिनुभयो ।

गणनामा एउटा समूहमा कम्तीमा १० जना रहने र एक जना टिम कोर्डिनेटर रहने उहाँले बताउनुभयो । उहाँका अनुसार चितवनको चरा गणनामा उनी लगायत, टीका गिरी, टेक गुरुङ, रमेश चौधरी र हठन चौधरीको संयोजन रहनेछ ।
र देशभर ६० हजारको सङ्ख्यामा चराहरू छन् भने चितवनमा १० हजारभन्दा बढी चराहरू रहेको अनुमान छ ।
नेपालमा सबै गरी ८ सय८७ प्रजातिका चरा पाइने गर्दछ भने चितवनमा मात्रै ६सय ५० प्रजातिका चरा पाईन्छन । हाँस प्रजातिमा खोया हाँस, चखेवा चखेवा लगायत अन्य जल चराहरूको गणना गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्