कांग्रेस महाधिवेशन : मनोनयन फिर्ता लिन सक्ने समय आज बिहान ११ बजेसम्म
काठमाडौं । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिका लागि दिएको उमेदवारी फिर्ता लिन चाहेमा आज ११ बजेसम्म मनोनयन दर्ता गरेका उमेदवारले मनोनयन फिर्ता लिन सक्ने छन् ।
निर्वाचान समितिको कार्यतालिका अनुसार आज मध्यान्न १२ बजेर १५ मिनेमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
कांग्रेसको नयाँ नेतृत्त्व चयनका लागि २७ गते (भोलि) बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको हो । नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ ।
सभापति पदका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कल्याण गुरुङ, युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी पार्टीको उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सह–महामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ ।
पार्टी उपसभापतिका लागि नेताहरू पूर्णबहादुर खड्का, विजयकुमार गच्छेदार, डा। चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले उम्मेदवारी दिनुभएको छ ।
यसैगरी महामन्त्री पदका लागि गगन कुमार थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, डा.प्रकाश शरण महत, डा.राजाराम कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्