‘संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसको विजय आवश्यक’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ ।
पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आज उहाँले आगामी निर्वाचनमा काँग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि नेतृत्व लाग्नुपर्नेमा जोड दिनुभयो । उपसभापति निधिले काँग्रेसको नेतृत्वमा मुलुकको द्वन्द्व समाधान भई शान्ति प्रक्रिया कायम भएको, राज्यको पुनर्संरचना गरिएको र संविधानसभाबाट संविधान जारी गरिएको विषयलाई काँग्रेसले गौरवका साथ आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अर्का उपसभापति विजयकुमार गच्छदारले काँग्रेसभित्र मेलमिलाप र एकता भएन भने कम्युनिस्टसँग मुकाबिला गर्न नसक्ने बताउनुभयो । उहाँले कांग्रेस एक भए मात्र आगामी निर्वाचनमा कम्युनिस्ट पार्टीलाई परास्त गर्न सकिनेमा जोड दिनुभयो ।
पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र केन्द्रदेखि वडासम्म एकता कायम राख्नुपर्ने बताउनुभयो । उहाँले पार्टीमा भावनात्मक एकता र युवामा ऊर्जा निर्माण गर्नु आजको आवश्यकता रहको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्