वैदेशिक रोजगारीका समस्या एकमुष्ट समाधान हुन्छ : मन्त्री श्रेष्ठ
नवलपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका समस्याहरूको एकमुष्ट समाधानको प्रयास भइरहेको बताउनुभएको छ ।
नवपुरको डण्डामा आज नेकपा (एकीकृत समाजवादी) को कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली श्रमिकले भोग्नुपरेका कठिनाइ र त्यसलाई समाधानका लागि पहल गरिएको भन्दै केही समयभित्रै परिणाम देखिने बताउनुभयो ।
आन्तरिक तथा वैदेशिक रोजगारका समस्या र चुनौतीहरूको सम्बोधनका लागि मन्त्रालयले कार्यदल बनाएको चर्चा गर्नुहुँदै उहाँले विद्यमान समस्याहरूको प्याकेजमै समाधान गरिने बताउनुभयो । आफु श्रम क्षेत्र सुधारका लागि केन्द्रित रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
आफ्नो कार्यकालमा श्रमिकको हित अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित गरिने उहाँले बताउनुभयो ।
सीप विकाससँग सम्बन्धित तालिमहरू अब एकीकृत संरचनामार्फत सञ्चालन गर्न तयारी सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । साथै उहाँले गण्डकी प्रदेशको पूर्वाधार विकासका लागि विभिन्न निकायसँग समन्वय गरी आफूले काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्