तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर नगरपालिका भित्र दुई दिन कोरोना विरुद्धको खोप सञ्चालन

भोजपुर । स्वास्थ्य कार्यालय भोजपुरले नगरपालिका भित्र भेरोसेल खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

कोभिड–१९ विरुद्ध खोपको मौज्दात अनुसार भोजपुर नगरपालिका क्षेत्रमा दुई दिने अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जानकारी दिए । प्रमुख तिवारीका अनुसार हालसम्म कुनै पनि खोप मात्रा नलगाएकाहरूका लागि खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

स्वास्थ्य कार्यालयका प्रमुख तिवारी भन्छन्, “१८ वर्षभन्दा माथिका व्यक्तिहरूका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको हो, मङ्सिर २४ र २५ गते जिल्लामा यो अभियान सञ्चालन हुने छ ।” स्वास्थ्य संस्थाहरूका संस्थागत खोप केन्द्रहरूमा खोप कार्यक्रम सञ्चालन हुने छ । 

स्वास्थ्य कार्यालयका अनुसार खोप आएको अवस्थामा जिल्लाका अन्य स्थानीय तहहरूमा समेत खोप अभियान निरन्तर सञ्चालन हुने छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीका अनुसार भोजपुरमा हालसम्म ४७ हजार १ सय ७० जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाई सकेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button