२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी: मन्त्री झाँक्री

रेडियो नेपाल २०७८ मंसिर २२ गते १९:४०

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताउनुभएको छ ।     


चौधौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको औँल्याउनुभयो ।  निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उहाँले आग्रह गर्नुभयो । 

निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको मन्त्री झाँक्रीले बताउनुभयो । निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उहाँले बताउनुभयो ।  

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारबिना समृद्धि मुलुकको परिकल्पना असम्भव रहेको बताउनुभयो । निर्माण उद्योगमा धेरै समस्या रहेको उल्लेख गर्दै उहाँले सरकारले व्यवसायीमैत्री ऐन नियम ल्याउनेमा महासङ्घ आशावादी रहेकोसमेत बताउनुभयो ।

बाजागाजा, प्लेकार्डको प्रदर्शनीसहित दशरथ रङ्गशालाबाट सुरु भएको र्‍याली थापाथली, माइतीघर, बबरमहल हुँदै महासङ्घ सचिवालय अनामनगर पुगेको थियो । महासङ्घ प्राङ्गणमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए ।

सम्बन्धित