२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनु आवश्यक’

रेडियो नेपाल २०७८ मंसिर २२ गते १९:२९

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी र उच्च गुणस्तरीय बनाउनु आवश्यक भएको बताउनुभएको छ । 

बुधवार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको हो ।

स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक भन्दै अर्थमन्त्री शर्माले विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धिहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने बताउनुभयो । 

मन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभयो । 

अटोमोबाइल्स क्षेत्रले राजस्वमा पुर्‍याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीहरूलाई मन्त्री शर्माले आग्रह गर्नुभयो । 

उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टी लगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने बाचासमेत मन्त्री शर्माले व्यक्त गर्नुभयो ।

यसैगरी मन्त्री शर्माले अब पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनका रूपमा बदल्नुपर्ने बताउनुभएको छ । मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो । 

सम्बन्धित