२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १३ औँ  मानवअधिकार महाभेलाको उद्घाटन

मानवअधिकार रक्षाका लागि सबै क्रियाशील हुनुपर्छ : उपराष्ट्रपति पुन

रेडियो नेपाल २०७८ मंसिर २२ गते १८:२३

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकार रक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट क्रियाशील रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १३ औँ  मानवअधिकार महाभेलाको उद्घाटन गर्दै उहाँले शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा विश्वको ध्यान नेपालतर्फ आकर्षित भइरहेको हुँदा सबै मानव अधिकारकर्मी मिलेर त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

“नेपालले मानवअधिकारलगायत अन्तर्राष्ट्रिय अन्य सन्धि महासन्धिमा हस्ताक्षर गरेकाले त्यसको उद्देश्य र लक्ष्यअनुसारको नेपालले काम गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसअनुरूप नेपालले कार्यान्वयनमा ध्यान दिनुपर्छ ।”

उपराष्ट्रपति पुनले मानवअधिकार महासन्धिले गाँस, बास, कपास, स्वास्थ्य शिक्षासहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको रक्षा नै मानवअधिकार भएको ठहर गरेको भए पनि स्वास्थ्य र शिक्षा पूर्ण रूपमा निःशुल्क गर्न नसकिएको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै समुदाय, क्षेत्र र वर्ग सबैलाई समान रुपमा मानव अधिकारको उपयोग गर्न पाउनुपर्ने बताउनुभयो । 

मानव अधिकारकर्मी दमननाथ ढुङ्गानाले नेपाली नागरिकले लोकतन्त्र ल्याउनका लागि दिएको बलिदानको अर्थपूर्ण भए मानव अधिकारको दृष्टिकोणले राम्रो हुने बताउनुभयो ।

महाभेलाका संस्थापक अध्यक्ष चरण प्रसाईँले नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनुपर्ने जरुरी भएको र त्यसका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

महाभेलाका संयोजक रोशना खड्काले मानवअधिकार रक्षामैत्री समाजको परिकल्पनाका लागि ऐक्यबद्धता र प्रतिबद्धता जनाउँदै महाभेलामा सहभागी सङ्घ संस्था, व्यक्ति, अतिथि सबैप्रति आभार व्यक्त गर्नुभयो । 

महाभेला सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने तयारी छ । त्यसमा सक्रियतापूर्वक सहभागिता जनाउन पनि संयोजक खड्काको आग्रह छ ।

यस वर्ष मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान– २०७८ बाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई र मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०७७ बाट भद्रमान घलेलाई सम्मान गरियो । 

त्यस्तै, पद्मरत्न तुलाधर राष्ट्रिय मानवअधिकार तथा शान्ति पुरस्कार– २०७८ बाट डा रेणु अधिकारी, सोही पुरस्कार २०७७ बाट मानव अधिकारकर्मी दमननाथ ढुङ्गाना, शान्तिलक्ष्मी महिला मानवअधिकार पुरस्कार–२०७८ मुस्कान खातुन र सोही पुरस्कार २०७७ बाट सपना रोका मगरलाई प्रदान गरिएको छ । 

गत वर्ष कोभिड–१९ को महामारीका कारण पुरस्कार घोषणा मात्रै गरिएको हुनाले यस वर्ष वितरण गरिएको हो । रासस

सम्बन्धित