तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक बङ्गुर पालनमा रमाउँदै बुढाथोकी

सल्यान । सल्यानका धेरै युवाहरूको आकर्षण वैदेशिक रोजगारी रहेको छ ।

रहर र बाध्यता जे जस्तो भएता पनि पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता समाजमा व्याप्त रहेको छ । 

धेरै युवा युवतीहरू स्वदेशमा रोजगारी नपाएको भन्दै परदेश गइरहँदा सल्यानका एक युवाले भने आफ्नै गाउँमा व्यावसायिक बङ्गुर पालन सुरु गरेका छन् । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ सेराका २७ वर्षीय खिलक बुढाथोकीले व्यावसायिक बङ्गुर पालन सुरु गर्नुभएको हो । शुभकामना पशुपक्षी तथा कृषि फर्म नै दर्ता गरेर बुढाथोकीले ३१ लाखको लगानीमा व्यावसायिक बङ्गुर पालन सुरु गर्नुभएको हो । 

इच्छा शक्ति, जोस जाँगर भएमा स्वदेशमा पनि सुन फलाउन सकिन्छ भन्ने उद्देश्यका साथ बङ्गुर पालन सुरु गरेको उहाँको भनाई छ । “विदेशमा गए बसी बसी पैसा आउँछ जस्तो गरी धेरै युवायुवतीहरू विदेशको मोहमा विदेशी रहेका छन् तर विदेशमा गर्ने मेहनत र परिश्रम आफ्नै गाउँघरमा गर्न सके यही राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसायमा हात हालेको छु ।”, उहाँले भन्नुभयो ।

 ६ वटा बङ्गुरबाट व्यवसाय सुरु गर्नुभएका बुढाथोकीले बजारको मागलाई दृष्टिगत गरी एक सयसम्म बङ्गुर पालन गर्ने सोच बनाएको बताउनुभयो । 

बजारमा बङ्गुरको मासुको भन्दा पाठा पाठीको माग बढी देखिएकाले मासुलाई लक्षितभन्दा पनि पाठा पाठी बिक्रीलाई पहिलो प्राथमिकतामा राख्ने उहाँको भनाई छ । 

एउटै पाठा पाठीको मूल्य ५ हजारदेखि ७ हजारसम्म पर्ने भएकाले पाठा पाठी बिक्री गर्ने सोच बनाएको बुढाथोकीले बताउनुभयो । एउटै माउ बङ्गुरले वर्षको तीन पटक १० देखि १२ सम्म पाठा पाठी दिने उहाँको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button