तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन : सभापतिका साझा उम्मेदवार बनाउने कसरतमा नेताहरू

काठमाडौँ  । सभापतिका साझा उम्मेदवार सहमतिका साथ टुङ्गो लगाउन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।

बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार बनाउने अन्तिम तयारी गरेको हो । 

पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकाङ्क्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेदवार बनाउन सुझाएको छ ।

बैठकमा सहभागी अधिकांश नेताले पार्टीमा निरन्तर लामो समयदेखि त्याग गरेका सर्वस्वीकार्य नेतालाई सभापतिको उम्मेदवार बनाउन सुझाएका छन् । 

संयुक्त बैठकपछि चाक्सीबारीमा अपराह्न ३ बजे शीर्ष नेताहरूसहितका पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले साझा उम्मेदवारको टुङ्गो लगाउने केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्ति नटुङ्गिए पनि छलफल केही साँघुरिएको छ, बेलुकासम्म सभापतिको उम्मेदवार टुङ्गो लाग्छ ।”

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीका पूर्व सभापति, वर्तमान सभापति लगायतसँग बसेर छलफल गरिएको र विभिन्न कोणबाट सुझाव आएकाले पुनः केन्द्रीय सदस्य तथा पदाधिकारीसहितको बैठकले अन्तिम टुङ्गो लगाउने बताउनुभयो । 

बैठकमा वरिष्ठ नेता पौडेल केही समय बसेर बाहिरिनुभएको थियो । चार जनामध्ये आफू पनि सभापतिको उम्मेदवार भएकाले बैठकको निष्कर्षलाई स्विकार्ने सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभएको थियो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले सबै नेता उम्मेदवारका लागि उत्तिकै योग्य भए पनि अहिलेको परिस्थितिमा कस्तो व्यक्तिलाई उठाउँदा उपयुक्त हुन्छ, पार्टीमा निरन्तर योगदान गरेको र आगामी दिनको चुनौतीलाई सामना गरेर अघि बढ्न सक्ने नेतृत्व चाहिन्छ भनेर बैठकले सुझाएको बताउनुभयो ।

निवर्तमान जिल्ला सभापति जगदीश नरसिंह केसीले सभापतिका आकाङ्क्षी चार नेता बसेर साझा धारणा बनाएर ल्याउन बैठकले अनुरोध गरेको बताउनुभयो । 

हिजो मङ्गलवार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको हो । 

शुक्रवारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदै छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button