तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका फुटबल प्रतियोगिता: हेटौँडा सेमिफाइनलमा

मकवानपुर । हेटौँडाको हुप्राचौरमा जारी प्रथम अन्तरपालिका जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । 

मङ्गलवार बकैया गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै हेटौँडा सेमिफाइनल प्रवेश गरेको हो । 

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको एक मात्र क्वाटर फाइनल खेलमा हेटौँडाले सुरुवाती अग्रता लिएको थियो । 

खेलको पहिलो हाफको १२ औँ मिनेटमा बकैयाका खेलाडीले डी–बक्सभित्र ह्यान्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै हेटौँडाका कप्तान विवेक गुरुङले खेलमा अग्रता प्राप्त गरेका थिए । पहिलो हाफ निकै नै रोमाञ्चक बनेको खेलको ३२ औँ मिनेटमा बकैयाका अभिषेक ब्लोनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको प्रतियोगिताको दोस्रो हाफको ४७ औँ मिनेटमा हेटौँडाका अनिश महर्जनले गोल गर्दै हेटौँडालाई २–१ गोलको अग्रता दिलाए भने खेलको अतिरिक्त समयमा ललित चौलागाईंले गोल गर्दै ३–१ गोल अन्तरले हेटौँडाको जीत सुनिश्चित गरेका थिए । खेलको म्यान अफ दि म्याच हेटौँडाका अनिल थापा घोषित भएका थिए । 

जारी प्रतियोगितामा हेटौँडाले अब सेमिफाइनलमा बिहीबार बागमती गाउँपालिकाको सामना गर्ने छ भने भोलि बुधवार पहिलो सेमिफाइनलमा थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकाको सामना गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button