तपाईँ सुन्दै हुनुहुन्छः

विकृति अन्त्य गर्ने गरी काम जारी: मन्त्री आले

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नागरिक उड्डयन क्षेत्रमा देखिएका विकृति अन्त्य गर्ने गरी आफूले काम गरिरहेको बताउनुभएको छ । 

७७ औँ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा पर्यटन मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले यात्रुहरूको सुलभ र सुरक्षित यात्रा गर्न पाउनुपर्ने चाहनालाई सम्बोधन गर्न मन्त्रालय भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो । 

हवाई उड्डयनको क्षेत्रमा चरा तथा जङ्गली जनावरबाट हुने अवरोध हटाउन, यात्रुहरूलाई ठगिनबाट जोगाउन तथा हवाई यात्रालाई सुरक्षित बनाउन मन्त्रालयलाई आवश्यक सुझाव दिन विज्ञहरूलाई आग्रह गर्नुहुँदै मन्त्री आलेले त्यस क्षेत्रमा सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले हवाई उड्डयन क्षेत्रको सुरक्षा तथा सुव्यवस्थाका लागि आवश्यक काम गर्न मन्त्रालय तयार रहेको र यसमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button