तपाईँ सुन्दै हुनुहुन्छः

कपडाको चप्पल बनाउन सिक्दै दमौलीका महिला

तनहुँ । तनहुँको दमौलीमा कपडाको चप्पल बनाउने तालिम सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समिति र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)गण्डकी प्रदेशको संयुक्त आयोजनामा चप्पल बनाउने तालिम सुरु भएको हो ।

१० दिने उक्त तालिमको उद्घाटन गर्दै सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले तालिम तालिमका लागि मात्र हुन नहुने बताउनुभयो । 

तालिमका क्रममा सिकेको सीप व्यावहारिक रुपमा उतार्न सके मात्र प्रशिक्षार्थी माथि गरिएको लगानीको सदुपयोग हुने आचार्यले बताउनुभयो । 

तालिम पश्चात् उत्पादित सामानको बजारीकरण, उत्पादनको लागि आवश्यक कच्चा पदार्थको व्यवस्थापन सम्मको चक्र सही रुपमा भए मात्र सीपको प्रभावकारिता बढ्ने र दिगो हुने आचार्यको भनाई थियो । साथै उहाँले बजारको माग अनुसार उत्पादन गर्न पनि महिलाहरूलाई सुझाव दिनुभयो । आफु उद्यमी बनी अरूलाई पनि रोजगारीको अवसर दिन सक्नुपर्नेमा आचार्यको जोड थियो ।

व्यास–२ का वडा अध्यक्ष काशीराम श्रेष्ठले तालिमले व्यवहारिकता नपाउँदा आशा गरिएको उपलब्धि हासिल नभएको बताउनुभयो । तालिम लिएपछि व्यक्तिको जीवनयापनमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै श्रेष्ठले भन्नुभयो ‘तपाईँहरू सीप सिक्न तत्परता देखाउनुस्, हामी जहाँबाट भए पनि तालिमको व्यवस्थापन गछौँ’ ।

महिला उद्यमी विकास समितिकी अध्यक्ष शकुन्तला आलेको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइका सभापति भूपाल आले, महिला उद्यमी विकास समितिकी निवर्तमान सभापति राधिका परियार, सचिव सङ्गीता प्रधान लगायतको उपस्थिति रहेको थियो ।

दमौलीका २० जना महिला प्रशिक्षार्थी रहेको उक्त तालिममा १० दिनसम्म साधना श्रेष्ठले कपडाको चप्पल बनाउन प्रशिक्षण दिने समितिकी अध्यक्ष आलेले जानकारी दिनुभयो । 

तालिम पश्चात् उत्पादित चप्पलको बजारीकरणमा समेत महिलालाई समितिले सघाउने उहाँको भनाइ छ । साथै महिलाहरूको आवश्यकता अनुसार एडभान्स लेभलको तालिम समेत सञ्चालन गरिने समेत आलेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button