तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई लाभ दिने नीति बनाउन प्रदेश सरकार अडिग: कृषि मन्त्री यादव

जनकपुरधाम । प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले कृषि उत्पादनमा संलग्न किसानहरूलाई त्यसको प्रत्यक्ष लाभ दिने नीति बनाउनेतर्फ प्रदेश सरकार अगाडी बढेको बताउनुभएको छ ।

कृषि मन्त्री यादवले यु के एड्को आर्थिक सहयोगमा क्यास नामक संस्थाले प्रदेश नंं २ को ४ जिल्लामा दूध तथा तरकारी उत्पादन एवं बजारीकरणमा किसानलाई सघाउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रमको समीक्षा कार्यक्रमको आज महोत्तरीको बर्दिबासमा सम्बोधन गर्दै कृषि क्षेत्रमा कडा मेहनतबाट उत्पादित सामान बिक्री गरेर बिचौलियाले मनग्यै लाभ लिए पनि किसानको आर्थिक तथा सामाजिक अवस्था माथि उठ्न नसकेको बताउनुभयो ।

कृषि मन्त्री यादवले कृषि क्षेत्रको विकास, विस्तार एवं बजारीकरणमा संलग्न भएका प्रदेश नंं २ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर कृषिको क्षेत्रमा विकास गर्नका लागि तयार रहेको बताउनु भयो ।

स्थानीय पार्टनरको रुपमा रहेको आसमान नेपालका कार्यकारी निर्देशक नबल यादवले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा संस्थाले काम गरे पनि यससँग जोडिएको कृषि क्षेत्रको विकास आवश्यक भएकाले प्रदेश नंं २ को धनुषा, सप्तरी, रौतहट तथा बारा जिल्लाहरूमा दुग्ध तथा तरकारी बालीमा किसानलाई विभिन्न प्रकारको सहयोग गरेको बताउनुभयो ।

क्यासका परियोजना प्रमुख सिद्धार्थ खड्काले परियोजनाले नेपाल सरकारको नीति अनुसार कृषि क्षेत्रको विकास, विस्तार तथा बजारीकरणमा सहयोग गर्दै आएको बताउँदै प्रदेश नंं २ मा पनि दूध तथा तरकारी उत्पादनमा संलग्न ठूला सरकारी संस्थाहरूको क्षमता विकासमा सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा आसमानका सल्लाहकार गुरु सुवेदी, क्यासका मनिष विक्रम शाह, प्रदेश नंं २ का कृषि निर्देशनालयका कृषि अधिकृत विकास साहले कृषि क्षेत्रको विकासका लागि परियोजनाको कार्यक्रम सकारात्मक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button