तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीलाई कानुन व्यवसायीको ज्ञापन पत्र, प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सुझाव

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । 

नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारीले आज ओली निवास बालकोट पुगेर प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनुपर्ने सुझाव सहितको ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्र बुझ्ने क्रममा एमाले अध्यक्ष ओलीले यस विषयमा आफू जानकार रहेको भन्दै नेकपा एमाले समग्र न्यायालय सुधारको पक्षमा रहेको बताउनुभएको नेपाल बारका महासचिव लिलामणी पौडेलले जानकारी दिनुभयो ।

यसअघि बारले सभामुखलगायत अन्य राजनीतिक दलका नेताहरूलाई भेटेर प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनुपर्ने सुझाव सहितको ज्ञापन पत्र बुझाइसकेको छ ।

प्रधानन्यायाधीश जबराका कारण नेपालको न्यायालयमा विचलन आएको भन्दै कानुन व्यवसायीसहित न्यायाधीशहरूले समेत जबराको राजीनामा माग्दै आएका थिए । 

प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरू भने गोलाप्रथाबाट पेशी व्यवस्थापन लागु भएपछि इजलास फर्किए पनि कानुन व्यवसायीहरू निरन्तर आन्दोलनमा छन् । 

यता, प्रधानन्यायाधीश जबराले भने आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएकाले प्रक्रिया विपरीत राजीनामा नगर्ने अडान राख्दै आउनुभएको छ । 

प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान राखेपछि आन्दोलनमा उत्रिएको बारले उहाँमाथि महाअभियोग लगाएर भए पनि हटाउनुपर्ने माग राजनीतिक दलहरू सामु राख्दै आएको छ । 

कानुन व्यवसायीहरूको माग अनुसार सत्ता गठबन्धनमा महाअभियोगबारे अनौपचारिक छलफल भए पनि ठोस निर्णय भने भइसकेको छैन । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउने हो भने संसद् पुनर्स्थापना गर्न आदेश दिने अन्य न्यायाधीशमाथि पनि महाअभियोग लगाउनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button