तपाईँ सुन्दै हुनुहुन्छः

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत आज मटकोर

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज मटकोर विधि रहेको छ । 

जानकी मन्दिरबाट माता जानकीको प्रतिकात्मक स्वरूप बनाएर रथमा राखी बाजा गाँजा सहित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्ण सहितको साधुसन्त, विशिष्ट व्यक्तिहरू तथा महिलाहरू परम्परागत गीतहरू सहित जनकपुरधामको गंगासागरमा पुगेर मटकोर विधि गर्ने कार्यक्रम रहेको छ । 

मटकोर विधिमा मिथिलाका महिलाहरूले विभिन्न प्रकारको परम्परागत गीतहरू गाउने चलन रहेको छ । गंगासागर पोखरीमा पुग्दा गंगाआरती गर्ने तयारी गरिएको सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेश सभाका सदस्य रामअशिष यादवले जानकारी दिनु भएको छ । 

जनकपुरधामको गंगासागरवाट खनेर ल्याएको माटो विवाहका लागि जानकी मन्दिरको प्राङ्गणमा निर्माण गरिएको भव्य एवं आकर्षक विवाहका वेदीमा प्रयोग गर्ने चलन रहेको छ । 

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव मङ्सिर १७ गते देखि २३ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइरहेको छ । विवाह पञ्चमी महामहोत्सवको सबै भन्दा महत्त्वपूर्ण कार्यक्रम भोलि स्वयंम्बर तथा शुभ विवाहको कार्यक्रम रहेको छ । 

कोरोनाका कारणले विगतको दुई वर्षसम्म नेपाल भारतको सीमानाका बन्द रहेका कारणले भारतीयहरू नआएकोमा यस वर्ष सिमानाका खुल्ला भएका कारणले भारतीय तीर्थयात्रीहरू उल्लेख्य सङ्ख्यामा आउने क्रम जारी रहेको छ । 

भारतबाट आउने तीर्थयात्रीहरूका लागि नेपाल भारतको सीमा नाकामा नै सुरक्षाकर्मीहरूले मास्क वितरण गर्ने काम गरिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनु भएको छ । 

आज बिहान देखि नै भारतीय तीर्थयात्रीहरू धनुषा तथा महोत्तरी जिल्लको विभिन्न सीमा नाकाहरूबाट प्रवेश गरिरहेका छन् । यता आज बिहान देखि नै जनकपुरधामको ऐतिहासिक गंगासागर, धनुषसागर, दुग्धमति सहितको धार्मिक तलाउ एवं नदिहरुमा स्नान गरेर जानकी मन्दिर, राममंन्दिर सहितको मठमा पूजा अर्चना गरिरहेका छन् । 

मङ्सिर १७ गते जनकपुर नगरदर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंम्बर र शुभविवाह तथा २३ गते रामकलेवापछि पर्वको समापन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button