तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जिप दुर्घटना: नव विवाहित जोडीसहित ४ जनाको मृत्यु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

पाटनबाट सकारका लागि हिँडेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका वडा न. १ सकार खोलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । मृतक मध्ये २ जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई रहेका छन् । 

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । चुनाराको ठेगाना भने खुल्न नसकेको उहाँले बताउनुभयो । 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । 

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उनीहरू घरबाट माइती फर्कँदै गरेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।  

दुर्घटना साँझ साँढे ६ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन । 

चालक फरार रहेका र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button