तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका फुटबल प्रतियोगिता: बागमती र थाहा विजयी

मकवानपुर । हेटौँडामा जारी अन्तरपालिका जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तरगत सोमबारको खेलमा बागमती गाउँपालिका र थाहा नगरपालिका विजयी भएका छन् । 

सोमबार भएको पहिलो खेलमा बागमती गाउँपालिकाले ईन्द्रसरोवरलाई र थाहा नगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई पराजित गरेको हो । 

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौँडा–४ हुप्रचौरमा जारी प्रथम संस्करणको प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा बागमतीले इन्द्रसरोबर गाउँपालिकालाई ट्राईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ८० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । 

खेलको पहिलो हाफको नवौँ मिनेटमा इन्द्रसरोबरले मिलन लामाको गोलबाट अग्रता बनाए पनि २० औँ मिनेटमा बागमतीका कप्तान आकाश राना मगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

२७ औँ मिनेटमा नै इन्द्र सरोबरका खेलाडीले फ्री किक मार्फत गोल गर्दै पुनः अग्रता बनाउन सफल भए पनि  दोस्रो हाफको अतिरिक्त समयमा बागमतीका आकाशले दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएसँगै खेल बराबरीमा सकिएको थियो । 

ट्राईब्रेकरमा इन्द्र सरोबरका २ खेलाडीको प्रहार बागमतीका गोलरक्षक उमेश पाख्रिनले उत्कृष्ट बचाउ गरेर टिमलाई विजयी बनाएका थिए । खेलको म्यान अफ दि म्याच पनि बागमतीका गोलरक्षक पाख्रिन नै घोषित भए । 

त्यस्तै प्रतियोगिता अन्तरगत आजै भएको दोस्रो खेलमा थाहा नगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई शून्यका विरुद्ध ४ गोल गर्दै विजयी भएको छ । पहिलो हाफ निकै नै प्रतिस्पर्धात्मक रुपमा बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६४ औँ मिनेटमा थाहाका राजन गोलेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा गढी गाउँपालिका सम्हालिन नसक्दा ६७ औँ मिनेटमा थाहाका सन्देश बलले टिमका लागि दोस्रो गोल गरेका थिए भने थाहाका लागि ८२ औँ र अतिरिक्त समयको चौथो मिनेटमा राजन गोलले व्यक्तिगत दुई गोल गर्दै खेलमा पहिलो ह्याट्रिक गोल गर्नुका साथै थाहा नगरपालिकालाई फराकिलो गोल अन्तरले विजयी बनाउन सफल भए । खेलको म्यान अफ दि म्याच पनि ह्याट्रिक गोल कर्ता राजन गोले घोषित भएका थिए । 

प्रतियोगिता अन्तरगत भोलि मङ्गलवार हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिका बिच खेल हुने छ । प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button