तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी महामहोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज तिलकोत्सव पर्व सम्पन्न भएको छ ।

तत्कालीन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएपछि जनक पुत्री सीतासँग शुभ विवाह भन्दा अगाडी भएको तिलकोत्सवको स्मरणमा आज तिलकोत्सव विधि सम्पन्न भएको छ ।

जानकी मन्दिरबाट महन्थ रामतपेश्वर दास वैष्ण, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णको अगुवाइमा भगवानको तिलक गर्नका लागि बाजा गाँजासहित १ सय भार कोसेली लिएर राम मन्दिरमा पुगेर भगवान् श्रीरामको प्रतिकात्मक तिलक गर्ने कार्य सम्पन्न भएको छ ।

जनकपुरधामको नगर परिक्रम गर्दै साधुसन्तहरुको टोली बाजा गाजा सहित सहित १ सय भार लिएर राम मन्दिरमा पुग्दा राम मन्दिरका महन्थ राम गिरी, गुठी संस्थान जनकपुरधामका कार्यालय प्रमुख, महावीर युवा कमिटी, श्रीराम युवा कमिटीका पदाधिकारी तथा स्थानीयले स्वागत गरेका थिए । बेहुली पक्षबाट जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितका प्रशासनिक निकायका पदाधिकारी, राजनीतिक दलका व्यक्तिहरू सहभागी हुनुभएको थियो ।   
कार्यक्रममा महिलाहरूले मैथिली गीतका साथै विभिन्न प्रकारको हास परिहासहरू गरेका छन् । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत भोलि मटको, पर्सी २२ गते स्वयंम्बर तथा शुभ विवाह तथा २३ गते रामकलेवा रहेको छ । यस अघि नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button