तपाईँ सुन्दै हुनुहुन्छः

१० वर्षमा मानवसेवा आश्रममा ६ सय ३४ जना सहयोगापेक्षीको मृत्यु

चितवन । १० वर्षको अवधिमा सातै प्रदेशका २५ वटा शाखाबाट सञ्चालित मानवसेवा आश्रमले उद्धार गरिएका व्यक्ति मध्ये ६ सय ३४ जना सहयोगापेक्षीको मृत्यु भएको छ । 

आज आश्रमले नारायणगढमा  पत्रकार सम्मेलन गरी उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । २०६९ साल श्रावण २१ गतेबाट सहयोगापेक्षी उद्धार गर्ने अभियान शुरु गरेको आश्रमले देशभरका आश्रमका शाखाबाट ६ हजार २ सय ७५ जनालाई उद्धार गरिसकेको छ  भने २ हजार ४२५ जनालाई पारिवारिक पुर्नमिलन गरेको छ । 

यस्तै सो अवधिमा ३५४ जना आफैँ सक्षम भई स्वेच्छाले सामुदायिक पुर्नस्थापन भएका छन् । भने सबै शाखामा गरी  १ हजार ५ सय ६७ जना आश्रममा आश्रित रहेका छन् । आश्रमका अध्यक्ष रामजी अधिकारीले उद्धार गरिएका सहयोगापेक्षीहरु अत्यन्त कमजोर शारीरिक र मानसिक अवस्थामा गुज्रिएको अवस्थामा हुने भएकोले मृत्यु हुने गरेको बताउनुभयो । 

‘हामीले उद्धार गरिएका मध्ये अत्यन्त शारीरिक र मानसिक अवस्थामा गुज्रिएको अवस्थामा भेट्टाउंँछौं उहाँले भन्नुभयो, नत उहांँहरुलाई अस्पतालले उपचार गर्न स्वीकार गर्छ, नत हामीसँग त्यस्तो उपचार पद्धति नै हुन्छ ।’ यस्ता सहयोगापेक्षीहरु  गरिबी, परिवारबाट बहिस्कृत तथा नशालु पदार्थ सेवनबाट ग्रसित र दीर्घरोगी र गम्भीर प्रकृतिका रोगी समेत भएकोले उनीहरूको मृत्यु हुने गरेको अधिकारीले बताउनुभयो ।

२०८१ सालसम्म ५० करोडको अक्षयकोष सञ्चालन गरिने लक्ष्य 

२०८२ सालसम्म देशभर शाखा विस्तार गरी सडकमुक्त सहयोगापेक्षी गर्ने उद्देश्य रहेको आश्रमले २०८१ सालमा ५० करोडको अक्षयकोष स्थापना गर्ने जानकारी दिएको छ । यसका लागि देशभरका शाखाहरूमा ज्ञान विज्ञान महायज्ञ लगाउने, नेपथ्य व्याण्डबाट देशभर कन्सर्ट चलाउने लगायतका कार्यहरूबाट रकम सङ्कलन गर्ने लक्ष्य लिएको हो । 

अबका वर्षहरूमा देशभर शाखा विस्तार गर्न र आफ्नै भवनबाट सेवा दिन २०८१ सम्म ५० करोड अक्षयकोष सञ्चालन गर्ने योजना बनाएको अधिकारीले बताउनुभयो । जस अनुसार नारायणगढको कमलनगरमा नवनिर्मित भवनबाट यही मङ्सिर २६ देखि पुस ७ गतेसम्म ज्ञान विज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको छ । 

२ करोड ऋण  

मानव सेवा आश्रमको हालसम्म दुई करोड हाराहारीमा ऋण भएको जानकारी दिइएको छ । हाल कमलनगरमा निर्माणाधीन भवन निर्माणको लागि २ करोड ३३ लाख १० हजार खर्च भइसकेको र निर्माण सम्पन्न गर्न बचत तथा ऋण सहकारी संस्थाबाट १ करोड ऋण लिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । ‘हामीले हेटौँडा शाखाबाट सापट लिएर अहिले यहाँको भवन निर्माण गरेका हौँ, उहाँले भन्नुभयो, भवन निर्माण गर्न ज्ञान विज्ञान महायज्ञ सञ्चालन गर्न लागेका हौँ ।’ 

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबाट केही सहयोग प्राप्त हुँदै आएपनि आश्रम सञ्चालन गर्न समस्या भएको उहाँको भनाई छ । आश्रमले स्थानीय समाजसेवी स्वर्गीय भगवानदास श्रेष्ठ बाट ६ कट्ठा र उहाँको दाइ प्रेमकुमार श्रेष्ठबाट २ कट्ठा गरी ८ कट्ठा क्षेत्रफलमा नारायणगढको उक्त भवन र संरचना निर्माण गरिरहेको हो । जहाँ १०० जना सहयोगापेक्षी अट्ने क्षमता रहने अधिकारीले बताउनु भयो । जसको कोही हुँदैन, जसको केही हुँदैन भन्ने मूल अभियानबाट शुरु भएको आश्रममा देशभर समर्पित अभियान्ता सय जना, प्राविधिक , कर्मचारी गरी  सय जना र सहयोग गर्ने अभिभावक परिवार १६ हजारको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button