तपाईँ सुन्दै हुनुहुन्छः

१० वर्षमा मानव सेवा आश्रममा ६३४ जना सहयोगापेक्षीको मृत्यु

चितवन । १० वर्षको अवधिमा सातै प्रदेशका २५ वटा शाखाबाट सञ्चालित मानव सेवा आश्रमले उद्धार गरिएका व्यक्ति मध्ये ६३४ जना सहयोगापेक्षीको मृत्यु भएको छ । 

आज आश्रमले नारायणगढमा पत्रकार सम्मेलन गरी उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । २०६९ साल श्रावण २१ गतेबाट सहयोगपेक्षी उद्धार गर्ने अभियान सुरु गरेको आश्रमले देशभरका आश्रमका शाखाबाट ६हजार २७५ जनालाई उद्धार गरिसकेको छ भने २ हजार ४२५ जनालाई पारिवारिक पुनर्मिलन गरेको छ । 

यस्तै सो अवधिमा ३५४ जना आफैँ सक्षम भई स्वेच्छाले सामुदायिक पुनर्स्थापन भएका छन् । सबै शाखामा गरी  १ हजार ५६७ जना आश्रममा आश्रित रहेका छन् । 

आश्रमका अध्यक्ष रामजी अधिकारीले उद्धार गरिएका सहयोगापेक्षीहरु अत्यन्त कमजोर शारीरिक र मानसिक अवस्थामा गुज्रिएको अवस्थामा हुने भएकोले मृत्यु हुने गरेको बताउनुभयो । 

२०८१ सालसम्म ५० करोडको अक्षयकोष सञ्चालन गरिने लक्ष्य 
२०८२ सालसम्म देशभर शाखा विस्तार गरी सडकमुक्त सहयोगापेक्षी गर्ने उद्देश्य रहेको आश्रमले २०८१ सालमा ५० करोडको अक्षयकोष स्थापना गर्ने जानकारी दिएको छ । 

यसका लागि देशभरका शाखाहरूमा ज्ञान विज्ञान महायज्ञ लगाउने, नेपथ्य ब्यान्डबाट देशभर कन्सर्ट चलाउने लगायतका कार्यहरूबाट रकम सङ्कलन गर्ने लक्ष्य लिएको हो । 

जस अनुसार नारायणगढको कमल नगरमा नवनिर्मित भवनबाट यही मङ्सिर २६ देखि पुस ७ गतेसम्म ज्ञान विज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको छ । 

२ करोड ऋण
मानव सेवा आश्रमको हालसम्म २ करोड हाराहारीमा ऋण भएको जानकारी दिइएको छ । हाल कमल नगरमा निर्माणाधीन भवन निर्माणको लागि २ करोड ३३ लाख १० हजार खर्च भइसकेको र निमार्ण सम्पन्न गर्न बचत तथा ऋण सहकारी संस्थाबाट १ करोड ऋण लिइएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । 

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबाट केही सहयोग प्राप्त हुँदै आए पनि आश्रम सञ्चालन गर्न समस्या भएको उहाँको भनाई छ । आश्रमले स्थानीय समाजसेवी स्वर्गीय भगवानदास श्रेष्ठ बाट ६ कट्ठा र उहाँको दाइ प्रेमकुमार श्रेष्ठबाट २ कट्ठा गरी ८ कट्ठा क्षेत्रफलमा नारायणगढको उक्त भवन र संरचना निर्माण गरिरहेको हो । जहाँ १०० जना सहयोगापेक्षी अट्ने क्षमता रहने अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button