तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य स्वयंसेविकाको गुनासो ‘हाम्रो मूल्याङ्कन भएन’

दुलेगौँडा । स्वास्थ्य क्षेत्रमा खटिने स्वयंसेविकाहरूले आफूहरूको योगदानको मूल्याङ्कन नहुने गरेको गुनासो गरेका छन् । देशका स्वास्थ्य अवस्थालाई प्रभावकारी बनाउन गाउँ र टोलदेखि योगदान पुर्‍याउने आफूहरूको योगदानलाई नजर अन्दाज गरिएकोमा उहाँहरूले दुखेसो पोख्नुभयो । 

आइतबार १८औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिका भित्र कार्यरत रहेका स्वास्थ्य स्वयंसेविकाहरूले सङ्घीयताको महसुस गर्न नपाएको समेत बताउनुभएको छ  । 

महिला स्वास्थ्य स्वयंसेवीका सरस्वती सिग्देलले राज्यको निर्णयलाई निःशुल्क कार्यान्वयन गर्ने स्वयंसेविकाहरूलाई हेर्ने दृष्टिकोण फरक रहेको दुखेसो गर्नुभयो । 

“हामी निस्वार्थ खटिएका हुन्छौँ” उहाँले भन्नुभयो, “तर तलब खाएर हिँडेका छन् भन्ने बुझाई धेरैमा छ ।  हाम्रै प्रयास स्वरूप नेपालमा मातृ मृत्युदर र शिशु मृत्युदर घटेको छ,” उहाँले थप्नुभयो, “तर यसको योगदानको कदर माथिल्लो तहले मात्र लिने गरेका छन् ।” 

उहाँले जनप्रतिनिधि आएपछि महिला स्वास्थ्य स्वयंसेविहरुको सिकाई र तालिममा कुनै सहयोग नभएको बताउनुभयो ।

स्वयंसेवीका सूर्यकला सिग्देलले वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि आफूहरूको भूमिका हुन छाडेको बताउनुभयो । 
शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले नीति निर्माण र नेतृत्व गर्ने तहबाट महिला स्वयंसेविकालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । 

उहाँले विगतको तुलनामा स्वंयमसेवीकाहरुलाई हेर्ने दृष्टिकोण राम्रो हुँदै गएको बताउनुभयो । 

नगरमा कुल ५७ जना महिला स्वयंसेवीका छन् ।

यसैबीच घिरिङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा घिरिङमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । 

गाउँपालिकाका अध्यक्ष  रनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष  सरस्वती  घिमिरे सिग्देल, घिरिङ गाउँपालिका वडा न १ का वडा अध्यक्ष  गङ्गा राम कुमाल, घिरिङ गा.पा. सल्लाहकार सुमन श्रेष्ठ ,गाउँपालिका सदस्य  तहल्सिङ थापा, ने.क.पा.एमाले .घिरिङ गाउँ कमिटीका अध्यक्ष  विष्णु प्रसाद  ढकाल लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।  

सो अवसरमा ५ जना महिला स्वास्थ्य स्वयंसेविका लाई  उत्कृष्ट  महिला स्वास्थ्य स्वयंसेविकाबाट सम्मान गरिएको थियो ।

‘स्वस्थ जीवन शैली हाम्रो आवश्यकता संकट न्यूनीकरणमा महिला सामुदायिक  स्वयंसेविका ’ भन्ने नाराका साथ देशभर स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button