तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशनपछि एमाले एकताबद्ध भएको छ : सचिव भट्टराई

भरतपुर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताउनुभएको छ ।

भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र सङ्घ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँडेको बताउनुभयो ।

एमालेको महाधिवेशनको उद्घाटन सत्रमा सात लाख बढी जनता सहभागी भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “हामीले रेकर्ड बनाइसक्यौँ, त्यो रेकर्ड तोड्न नसकेरै काँग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रदर्शन नगर्ने निर्णय गरेका छन् ।”

उहाँले गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको आरोप लगाउनुभयो । भागबन्डाको राजनीतिले कार्यपालिका ध्वस्त बनेको उहाँको भनाइ छ । भट्टराईले सार्वजनिक खरिद ऐन संशोधनप्रति आपत्ति जनाउनुभयो ।

उहाँले कम्युनिस्ट पार्टी स्थापना भएदेखिको कम्युनिस्टको लिगेसी एमालेसँग रहेको बताउनुभयो । “जुन साख एमालेले जोगाएको छ र जनताको भरोसा एमालेमा मात्र छ, नेकपा विघटन भएपछि एमाले नै नेकपाको लिगेसी कायम राखेको छ”, उहाँले भन्नुभयो । अब नेपालमा एमाले र काँग्रेसको मात्र प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।

सो क्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको १०औँ महाधिवेशनबाट देश नै खुसी बनेको बताउनुभयो । उहाँले चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सानदार रूपमा सफल भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button