तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन : १ सय ६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । 

पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो । 

“सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन क्षेत्र नं ४ मा आज निर्वाचन हुँदैछ”, उहाँले भन्नुभयो । महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको तर निर्वाचनको नतिजाका क्रममा केही विवाद रहेकाले त्यहाँको निर्णय गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।

कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको उहाँले बताउनुभयो । 

प्रदेश नं २ बाहेक सबै प्रदेशको अधिवेशन प्रारम्भ भइसकेको छ । 
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पदाधिकारीको नतिजा आइसकेको छ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत नकटाएकाले पुनः मतदान हुने निर्वाचन संयोजक घिमिरेले बताउनुभयो ।
काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button