तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका फुटबल प्रतियोगिता सुरु, सडन डेथमा हेटौँडा विजयी

मकवानपुर । हेटौँडामा शनिवारबाट अन्तरपालिका जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । 

हेटौँडा–४ स्थित हुप्रा चौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौँडा उपमहानगरपालिकाले विजयी सुरुवात गरेको छ । हेटौँडा उपमहानगरपालिकाले मनहरी गाउँपालिकालाई सडन डेथमा २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि ट्राई ब्रेकरमा धकेलिएका खेलसमेत ३–३ गोलको बराबरी भएपछि खेलको नजिता सडेन डेथबाट गरिएको थियो । 

प्रतियोगिताको म्यान अफ दि म्याच हेटौँडाका जर्सी नम्बर १ का खेलाडी सफल तिमल्सिना घोषित भएका थिए । हारसँगै मनहरी गाउँपालिका प्रतियोगिताबाट बाहिरिएको छ । 

प्रतियोगितामा मकवानपुरका १० वटै पालिकाको फुटबल टिमको सहभागिता रहेको छ । नकआउट प्रणालीमा भएको प्रतियोगितामा भोलि (आइतबार) २ खेल हुने छ । 

प्रतियोगितामा भोलि पहिलो खेल कैलाश गाउँपालिका र बकैया गाउँपालिका तथा दोस्रो खेल भीमफेदी गाउँपालिका र राक्सिराङ गाउँपालिका बिच हुने आयोजकले जनाएको छ । 

दश टोली सहभागी प्रतियोगिताको उद्घाटन आयोजक जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले खेल क्षेत्रको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

जिल्लाका दश वटा स्थानीय तहले सहभागिता जनाएको प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा विधागत अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button