तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको प्रदेश महाधिवेशन: २ बाहेक अन्य प्रदेशमा मतदान

काठमाडौँ । नेपाली काँग्रेसको जारी प्रदेश अधिवेशनमा आज प्रदेश नं. २ बाहेक अन्य ६ प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । 

गण्डकी प्रदेशमा मतगणना सुरु भइसकेको छ भने अन्य प्रदेशमा मतगणनाको तयारी भइरहेको नेपाली काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशमा १ हजार १ सय ६२ मतदाता रहेकामा १ हजार १ सय ४६ मत खसेको गण्डकी प्रदेश निर्वाचन समितिका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । 

यसैगरी नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनमा १ हजार २६ मत मध्ये १ हजार ३ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

file photo

त्यहाँ अहिले बेलुकी ९ बजेदेखि मतगणनाको तयारी भएको सुदूरपश्चिम प्रदेश निर्वाचन समितिका संयोजक वीरबहादुर जेठाराले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेशमा मतदान सम्पन्न भएको छ भने १ नं. प्रदेशमा मतदान सम्पन्न भई मतपेटिका पाटी कार्यालय पुर्‍याइएको छ । 

प्रदेश नं. १ को मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने प्रदेश नं. १ निर्वाचन समितिका संयोजक भरतबहादुर थापाले बताउनुभयो । 
बागमती र कर्णाली प्रदेशमा मतदान प्रक्रिया दिउँसो अबेर सुरु भएकाले ती दुवै ठाउँमा मतदान कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ । 

प्रदेश नं. २ मा भने सर्लाही बाहेक अन्य जिल्लाको मतदाताको नामावली पठाउने काम भइरहेको छ । 

सर्लाहीमा भोलि सम्ममा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्र अधिवेशन सम्पन्न हुन सके त्यहाँको समेत समेटेर २ नं. प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना रहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । 

नेपाली काँग्रेसको संशोधित विधान अनुसार पहिलो पटक गठन हुन लागेको प्रदेश समितिको नेतृत्वका लागि बागमती प्रदेश र कर्णाली प्रदेशमा ३–३ जनाको उम्मेदवारी परेको छ भने अन्य प्रदेशहरूमा २–२ जना उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको छ । 

नेपाली काँग्रेस बागमती प्रदेश निर्वाचन समितिका संयोजक केशव काफ्लेका अनुसार बागमती प्रदेश सभापतिका लागि इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधानबिच प्रतिस्पर्धा भइरहेको छ । 

यसैगरी कर्णाली प्रदेश सभापतिका लागि ललितजङ्ग शाही, भुपेन्द्रजङ्ग शाही र मोतीराज बमको उम्मेदवारी परेको छ भने प्रदेश नं. १ मा  गुरुराज घिमिरे र उद्धव थापा, गण्डकी प्रदेशमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशी, लुम्बिनी प्रदेशमा भरतकुमार शाह र अमरसिंह पुन तथा सुदूर पश्चिम प्रदेशमा नारायणदत्त मिश्र र वीरबहादुर बलायर बिच प्रतिस्पर्धा भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button