तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली वेतन आयोजना निर्माणको काम आगामी आर्थिक वर्षबाट शुरु हुने

काठमाडौँ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरू मुख्य प्रवर्द्धक रहेर निर्माण हुने वेतन कर्णाली जलविद्युत आयोजनाको निर्माणको काम आगामी आर्थिक वर्षबाट शुरु हुने भएको छ । 

४ सय ३९ मेगावाट क्षमताको आयोजना निर्माणका लागि आवश्यक पर्ने पूर्व तयारीका कामहरू मध्येको विस्तृत इन्जिनियरिङ.अध्ययन, सम्भाव्यता अध्ययन र पहुँच मार्गको निर्माण लगायतका कामहरू सम्पन्न भएका छन् । 

आयोजनाको निर्माणका लागि कर्मचारी सञ्चय कोषले विगत ४ वर्षको सञ्चयकर्ताहरूको नाफाबाट ७ अर्ब रुपैयाँ लगानी गर्न छुट्टाएको छ ।

प्रमुख संरचना अछाम जिल्लाको ढकारी गाउँपालिका र सुर्खेतमा रहने सो आयोजना कर्णाली तथा सुदूरपश्चिम प्रदेशको बिचमा निर्माण हुनेछ । पिकिङ गर्न सकिने अर्ध–जलाशययुक्त आयोजनाको रुपमा अघि बढाउन खोजिएको आयोजना प्राविधिक र वित्तीय रुपमा निकै आकर्षक आयोजनाको रुपमा रहेको छ । 

यो वर्षभित्रै ईआइए, पीपीए, वित्तीय व्यवस्थापन र ठेक्का सम्झौता गरेर आगामी आर्थिक वर्षदेखि आयोजना निर्माणमा जाने गरी काम अघि बढाएको आयोजनाका प्रबन्धक दीपक रौनियारले बताउनुभयो ।

पीपीए हुने बित्तिकै ग्लोबल आइएमई बैङ्कको नेतृत्व तथा सनराइज बैङ्क र पूर्वाधार विकास बैङ्कको सह–नेतृत्वमा वित्तीय व्यवस्थापन हुने समझदारी भइसकेको छ । यसबाट कम्पनीले ५८ अर्ब रुपैयाँको ऋण व्यवस्थापन गर्नेछ । कुल लागत ८८ अर्ब रहेको आयोजनाको लागि ३१ अर्ब रुपैयाँ स्वपुँजीबाट सङ्कलन गरिने छ ।

स्वपुँजीको ४० प्रतिशत सञ्चय कोषका सञ्चयकर्ताको लगानी रहने छ भने सञ्चय कोषको १५ प्रतिशत, विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनीको १०÷१० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

आयोजनबाट सुक्खा याममा ६९० गिगावाट आवर र वर्षा याममा १६१० गिगावाट आवर गरी २३०० गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ । कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासका लागि गेम चेन्जर भएकाले सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्न सहयोग गर्नुपर्ने स्थानीयहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button