तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी अन्तर्गत आज फूलबारी लीला

जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सिताराम विवाह पञ्चमी महामहोत्सवको दोस्रो दिन आज फूलबारी लीला हुन लागेको छ । 

तत्कालीन मिथिलाका राजा जनकले आयोजना गरेको धनुष यज्ञमा सहभागी हुनका लागि अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् राम, लक्ष्मणसहित गुरु विश्वामित्रसँग जनकपुरधाम आएको बेलामा माता सीतासँग फूलबारीमा जम्काभेट भएको स्मरणमा फूलबारी लीला प्रत्येक वर्ष मनाइन्छ । 

जनकपुरधामको विवाह मण्डपमा आयोजना हुने फूलबारी लिलामा मानवको भगवान् राम, लक्ष्मण, गुरु विश्वामित्र तथा माता सीता सहितको अन्य स्वरूप बनाएर घुमाइने गरिन्छ । 

फूलबारी लिलाको दृश्य हेर्नका लागि विवाह मण्डप क्षेत्रमा ठूलो सङ्ख्यामा तीर्थयात्रीहरूको घुइँचो लाग्ने गर्दछ । 

शुक्रबारे नगरदर्शनबाट सुरु भएको विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज फूलबारी लीला सम्पन्न भएपछि भोलि १९ गते आइतबार धनुष यज्ञ, मङ्सिर २० गते सोमवार तिलकोत्सव, मङ्सिर २१ गते मङ्गलवार मटकोर, मङ्सिर २२ गते बुधवार विवाह उत्सव तथा मङ्सिर २३ गते रामकलेवा गरेर विवाह पञ्चमी महामहोत्सवको समापन हुनेछ । 

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवका लागि जनकपुरधामको नगर क्षेत्रलाई जनकपुरधाम उपमहानगरपालिका, सुरक्षा निकायहरू तथा मन्दिरका व्यवस्थापन मिलेर विशेष सरसफाइ गरिएको छ । 

जनकपुर क्षेत्र विकास परिषद्ले यस पटक जनकपुरधामको जानकी मन्दिरमा विशेष प्रकारको बिजुली बत्ती स्थायी रुपमा नै जडान गरेका कारणले निक्कै सुन्दर देखिएको छ । 

प्रत्येक वर्ष मङ्सिर शुक्ल पक्ष पञ्चमी तिथिका दिन मूल कार्यक्रम हुने विवाह पञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि नेपाल भारतबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

विगत दुई वर्षसम्म कोरोनाका कारणले थोरै भक्तजनहरू विवाह पञ्चमी महामहोत्सवमा सहभागी भएकोमा यस पटक सीमा खुल्ला भएको र कोरोनाका प्रभाव कम भएकाले भक्तजनहरूको सहभागिता बढ्ने अनुमान गरिएको छ । तर कोरोनाका नयाँ भेरियन्ट भारतमा पनि फेला परेकाले सजगता अपनाउनु पर्ने अवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button