तपाईँ सुन्दै हुनुहुन्छः

पुम्दीभुम्दीमा महादेवको मूर्ति हेर्नेको भिड

पोखरा । पोखराको पुम्दीभुम्दीमा विशाल महादेवको मूर्ति हेर्न पुग्नेको सङ्ख्या पछिल्लो समय ह्वाते बढेको छ । 

यति बेला महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यो ठाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । 

काठमाडौँ बाट पोखरा घुम्न आएका प्रदीप घिमिरेलाई यस महादेवको मूर्ति र यस स्थानबाट देखिने दृश्यले मन त लोभ्यायो र फेरी आउने गरायो । यहाँ शैक्षिक भ्रमण गर्न आउने विद्यार्थीहरूको सङ्ख्या पनि उत्तिकै बढेको छ । 

पोखरा–२२ पुम्दीभुम्दीको पुम्दीकोटमा विशाल महादेवको मूर्ति खडा गरिएको छ । एक वर्षअघि जडान गरिएको मूर्ति परिसरभित्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकी काम भइरहेको छ । 

धार्मिक या घुम्न आउने पर्यटकको लागि जुनसुकै बेला पनि उक्त स्थान खुल्ला गरिएपछि हिजो आज यहाँ आउने पर्यटकको भिड लागेको छ भने अर्को तिर पुम्दीभुम्दीको व्यापार व्यवसाय समेत फस्टाएको छ ।

पुम्दीकोटबाट पोखरा बजार, विश्व शान्ति स्तूप, सराङकोट, काहुँडाँडा, हिमशृङ्खला, फेवाताल, हरियो वनजंगल लगायतको दृश्य देख्न सकिन्छ । ४० करोडको परियोजनामा २० करोड रुपैयाँ खर्च भइसकेको छ । 

उक्त स्थानमा मूर्ति निर्माण गर्न महायज्ञबाट ८ करोड रुपैयाँ सङ्कलन भएको थियो ।  मूर्ति निर्माणका लागि पोखरा महानगरले १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ५० लाख र सङ्घीय सरकारले ४ करोड रुपैयाँ दिएका थिए ।

पोखरा आउने पर्यटकलाई थप एक दिन बस्न समय लम्ब्याउने गरी पर्यटकीय गन्तव्यको विकास गरिएको मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुहुन्छ । 

भारतको मथुरामा बनाइएको करिब ६ टन तौल बराबरको मूर्ति ५१ फिट अग्लो छ । पुम्दीकोटमा हाल मूर्ति स्ट्यान्डसहितको ध्यान केन्द्र, १ सय ८ शिवलिंग पनि बनाइएको छ ।

१ सय ८ स्वर्गद्वारी सिँढी, ढुङ्गा बिछ्याउने, रंगरोगन, फिनिसिङ लगायतका काम निर्माणाधीन अवस्थामा छन् । समितिले १८ वटा एट्याच बाथरुम सहितका सटर निर्माण गरेको छ । ग्रिनरी पार्क, पार्किङ, तार बार, रेलिङ, स्मृति पार्क, प्रशासकीय भवन, ज्येष्ठ नागरिक मिलन केन्द्र, टिकट काउन्टर लगायतका भौतिक संरचना निर्माण भइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button