तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो संस्करणको फिदिम नगर कप मङ्सिर २८ देखि पौष ३ गतेसम्म हुने

पाँचथर । स्वतन्त्र क्लब पाँचथरको आयोजनामा यही मङ्सिर २८ गते देखि पौष ३ गते सम्म पाँचथरको रानिटारमा तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

प्रतियोगितामा भारतका १ सहित नेपालका ७ गरी ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

बराजु खेल मैदान रानीटारमा हुने प्रतियोगितामा भारतको पाण्डा स्पोटिङ क्लब सिक्किम, चर्च ब्वाईज क्लब काठमाडौँ, कर्ण सिंह सोनाम मेमोरियल फुटबल क्लब ताप्लेजुङ, योङ ब्वाईज फुटबल क्लब इलाम, अल इन वान सैनिक क्लब झापा, रेड स्टार फुटबल क्लब बिर्तामोड तथा पाँचथरका दुई टिम पाँचथर क्लब र आयोजक स्वतन्त्र क्लबको सहभागिता रहने शुक्रवार फिदिममा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष बल बहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख ५० हजार र उपविजेता टिमले ८० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई नगद सहिद ट्रफि प्रदान गरिने छ । प्रत्येक खेलमा उत्कृष्ट खेलाडी घोषणा गरी पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ । 

बराजु खेलमैदान रानीटारमा हरेक दिन दिउसो २ बजे १ खेल हुनेछ । पौष १ र २ गते भने २र२ खेल हुनेछन् । 

फाइनल खेल पौष ३ गते हुनेछ । खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकम बाट हेर्न सकिनेछ । प्रतियोगिताको सह–आयोजक रानीटार युनाईटेड क्लब र प्रवर्द्धक फिदिम नगरपालिका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button