तपाईँ सुन्दै हुनुहुन्छः

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था चुनौतीपूर्ण छ: गृह सचिव पाण्डे

वीरगन्ज । गृह सचिव टेकनारायण पाण्डेले खुला सीमाको कारण नेपाल भारतको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था चुनौतीपूर्ण रहेको बताउनुभएको छ । 

बीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग आज आयोजित अन्तरक्रियामा गृह सचिव पाण्डेले आफू शान्ति सुरक्षाप्रति गम्भीर रहेको बताउनुहुँदै “सेफर वीरगञ्ज”ले सुरु गरेको कार्यक्रम सराहनीय रहेको बताउनुभयो । 

उहाँले सेफर बीरगंज परियोजनाले नगर क्षेत्रको सुरक्षाका लागि सिसिटिभी जडान गर्ने अभियानलाई आवश्यक सहयोग गर्न गृह मन्त्रालय गम्भीर रहेको बताउनुभयो । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले यस क्षेत्रको उद्योग व्यापार, व्यवसायको विकास र प्रवर्द्धनमा मात्रै नभई सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा समेत सङ्घले महत्त्वपूर्ण योगदान गर्दै आइरहेको बताउनुभयो । 

पछिल्लो समयमा सङ्घले आफ्नै नेतृत्वमा र स्थानीय तह, तथा विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर सञ्चालनमा ल्याएको “सेफर वीरगञ्ज” परियोजनाले वीरगञ्ज नगरको विभिन्न ठाउँहरूमा सिसिटिभी क्यामेरा जडान गरी निगरानी गर्दै आएको बताउनुभयो । 

उहाँले स्थानीय उद्योगी व्यवसायी, बैङ्क तथा वित्तीय संस्था, समाजका अगुवा नागरिक र वीरगञ्ज महानगरपालिका बाहेक अरू कुनै सरकारी निकायबाट कुनै किसिमको सहयोग प्राप्त नभएको जानकारी गराउँदै “सेफर वीरगञ्ज”लाई थप सिसिटिभी क्यामेरा जडान, सञ्चालन तथा मर्मत सम्भारमा सहयोग गर्न गृह मन्त्रालयबाट आवश्यक बजेट विनियोजनको व्यवस्थाको लागि गृह सचिवको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव हुमकला पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य गोपाल केडिया, पर्सा तथा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, पर्साका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक लगायत वीरगन्जका उद्योगी व्यवसायीहरू, संघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button