तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीसहित पदाधिकारीद्वारा पदभार ग्रहण

काठमाडौँ । नेकपा एमालेको चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीले पदवहाली गर्नुभएको छ । 

एमालेको केन्द्रिय कार्यालय थापाथलीमा आज पदवहाली गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक, सहमति, निर्विरोध अभ्यासबाट दशौँ महाधिवेशन सम्पन्न गरेको र यसबाट राम्रो परिणाम आएको बताउनुभयो । 

अध्यक्ष ओलीले एमालेले अब राष्ट्रिय राजनीतिमा छाएको अन्योलग्रस्त अवस्थालाई अन्त्य गर्दै देशलाई सही बाटोमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । 

अध्यक्ष ओलीले न्यायालयमा भएको अन्योलग्रस्त अवस्था पाँच दलीय गठबन्धनको कारण भएको आरोप लगाउनुभयो ।

गठबन्धनबाट देशको समय बर्बाद भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले छिटोभन्दा छिटो ताजा जनादेशमा गएर समस्याको समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । 

अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निष्कासित व्यक्तिहरू संसद्मा गए बस्न नदिने चेतावनी समेत दिनुभयो । उहाँले एमालेको जिल्ला र प्रदेश अधिवेशन चाडै नै गर्ने समेत जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button