तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा एक महिनासम्म मतदाता नामावली सङ्कलन गरिने

घोराही । दाङका सात वटा स्थानीय तहमा पुगेर मतदाता नामावली सङ्कलन गरिने भएको छ । 

प्रदेश निर्वाचन कार्यालयले एक महिनासम्म जिल्लाका सात वटा स्थानीय तहमा पुगेर मतदाता नामावली सङ्कलन गरिने जानकारी दिएको हो । 

प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख निमराज भट्टराईले मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म मतदाता नामावली सङ्कलन गर्ने काम गरिने जानकारी दिनुभयो । 

प्रदेश निर्वाचन कार्यालयले त्यसका लागि सात जना मतदाता दर्ता स्थल व्यवस्थापक खटाएको छ । 

यसअघि प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीबाट मतदाता नामावली सङ्कलन कार्य जारी राखेकोमा स्थानीयको मागलाई ध्यानमा राखेर दश वटै स्थानीय तहमा मतदाता नामावली सङ्कलन गर्न पुगेको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । 

पहिलो चरणमा दाङका बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकामा मतदाता नामावली सङ्कलन गर्ने कार्य तालिका सार्वजनिक गरिएको छ ।

 

पहिलो चरणमा पुस २ गतेसम्म मतदाता नामावली सङ्कलन हुने र दोस्रो चरणमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा पुस ४ गतेदेखि १८ गतेसम्म मतदाता नामावली सङ्कलन गर्ने जनाइएको छ । 

यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका क्षेत्रका लागि भने प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीबाट नामावली सङ्कलन गर्ने व्यवस्था गरिएको छ । 

फोटो : मतदाता नामावली सङ्कलनका लागि बबई गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र मतदाता नामावली सङ्कलनका लागि खटिएका कर्मचारीहरू सर्वपक्षीय, सर्वदलीय बैठकमा सहभागी । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button