तपाईँ सुन्दै हुनुहुन्छः

अझै पानी बोकेर ल्याउनुपर्ने बाध्यता

पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर अन्यत्र बसोबास गर्न थालेपछि गाउँमा सन्तानविहीन वृद्ध दम्पतीले पानीकै निम्ति सास्ती खेपेका छन् ।

सङ्घीय, प्रदेश र स्थानीय सरकार रहे पनि गरिब दिनदुःखीले आधारभूत आवश्यकता पूरा गर्न सरकार चुकेका छन् । नजिकको सरकार वा सिंहदरबारको अधिकारको गाउँगाउँमा भनिए पनि गरिब नागरिकले आधारभूत समस्या खेपेका छन् । वास्तविक गरिब पहिचान गरी सरकारले गरिब उत्थान कार्यक्रम ल्याए पनि वृद्ध परिवार भने समस्याबाट मुक्त हुनसकेका छैनन् ।

पाल्पाको हार्थोक छहरा सडकखण्डअन्तर्गत पर्ने यो क्षेत्र चारतिर जङ्गलले घेरिएको छ । नजिकै बस्ती छैन, त्यही एक्लो घरमा बसोबास गर्ने यी ७२ वर्षीय रामबहादुर खड्का र उहाँकी श्रीमती सीताको पनि उमेर ७० नाघिसक्यो । तर दिनरात पानीका निम्ति जङ्गलको बीच भागमा रहेको कुँवा धाउनुपर्ने अवस्था हटेको छैन, कहिले आफन्तहरूको घरमा पानी माग्न पुग्नुपर्ने बाध्यता टरेको छैन ।

सवारी सञ्चालन नहुँदा टोडकेमा पानी पिउन पैदलयात्रु त्यो घरमा पस्ने गर्थेँ । रामबहादुर र सीताले घण्टौँ समय बिताएर डोकोमा पानी बोकेर घरमा ल्याउने गर्थेँ । त्यही पनि पैदलयात्रुलाई मागे जति दिन पाउँदा खुशी हुन्थे । तर पहिलाका पानीका दाता अहिले यी जोडीलाई पानीको व्यवस्थापनको पिरलोले सुताइरहेको छ । ‘एक घर, एक धारा’को नारा पनि यी वृद्ध दम्पतीका निम्ति कार्यान्वयनमा आउन सकेको छैन । श्रीमान् बिरामी हुनुहुन्छ । छोरीहरूका विवाह गरी घर गएपछि जङ्गलको बीच भागबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।

सीताले भन्नुभयो, “श्रीमान् रामबहादुरको कम्मर निकै दुख्छ, रिङ्गटा लाग्छ । उनले केही काम गर्न नसक्ने भएका छन् । बुढेसकालमा पानी बोकेर खान सक्ने स्थिति नै छैन । त्यसैले मैले जसोतसो गरी पानीको बोकेर ल्याउँछु, उकालो आरालो गर्न समस्या भए पनि पानीबिना बाँच्न नै गाह्रो रहेछ ।”

आम्दानीका नाममा रामबहादुरको सामाजिक सुरक्षा भत्ता मात्र हो । सन्तानका नाममा तीन छोरी रहे पनि उनीहरूका विवाह गरी घरजम गरिसकेकाले माइती कमै पाइला टेक्छन् । खड्कालाई पानीजस्तै, साँझ बिहान गाँसको पनि समस्या हुँदै गएको छ ।

हातीढुङ्गाको पानी लिफ्टमार्फत तानेर घर नजिकै टयाङ्की निर्माण गर्न गाउँलेलाई सल्लाह दिएको तर गाउँले कुरा नसुनेपछि रामबहादुर चिन्तित छन् । त्यो पानी ठूलो पोखरामा आउँछन् भन्छन्, “खड्काको घर डाडाँमा रहेकाले लिफ्टमार्फत तानेको पानी ल्याउनसमेत समस्या रहेको बताउनुभयो ।

“पाँच भाइमध्ये चार भाइ पानीकै अभावमा सहर पलायन भएका छन् । लाखौँ खर्चिएर बनाइएका घरहरू छाडेर अन्यत्र बसोबास गर्न बाध्य भएका हुन् । सहरमा भाडा तिर्नुपर्ने आफ्नै घरचाहिँ भत्किएका र जङ्गलले घरिएका छन् । जग्गाजमिन प्रशस्त रहे पनि सिँचाइको सुविधा छैन । उत्पादित अन्नबाली बाँदर, मृगलगायत वन्यजन्तुबाट जोगाउन समस्या रहेको छ”, रामबहादुरको गुनासो छ ।

बाँदरको समस्याले पाँच वर्षदेखि मकै बाली उत्पादन गर्न छाडिएको छ । बारीमा वन्यजन्तुको समस्याले अम्रिसो रोपिएको छ । अम्रिसोबाट कुचो र घाँस दुवै हुन्छ । त्यसैले आम्दानी निम्ति भैँसीपालन गरिए पनि घाँस काट्न जाँदा चितुवाको समस्या रहेको सीता खड्काको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button