तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम

निर्वाचन आयोग नेपाल

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रममा सञ्चालन गर्दैछ ।
आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको निार्वचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा मंसिर १७ गतेदेखि जिल्लाको तालिका अनुसार मतदाता नामावली दर्ता गर्न सकिने आयोगले बताएको छ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर रहनेछ ।

मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने र सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी छ ।

‘विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । २० पुसभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ । ५ पुस २०७७ भित्र १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई समावेश गरी आयोगबाट ४ चैत २०७७ मा प्रकाशित सूचना अनुसार देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । यो कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button