अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी सेवा दिन राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनमार्फत शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरमा समान पहुँच स्थापित गर्न जोड दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले अन्य नागरिकसरह राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउनुभएको छ ।
संवैधानिक प्रावधानको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक कानुन तथा नियमावलीको समेत तर्जुमा गरिसकेको छ ।
राष्ट्रपतिको सन्देशमा विद्यमान कानुन र नीतिको कार्यान्वयनका लागि राज्यले आफ्नो क्षमता विकास गर्न आग्रह गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन तथा उनीहरूको समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ ।
यस वर्ष ‘समावेशी, सुलभ र दिगो कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदै छ ।
नेपालमा पनि ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन लागिएको छ ।
प्रतिक्रिया राख्नुहोस्