तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसमा नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

मकवानपुर । नेपाली काँग्रेसका पूर्व उप–सभापति प्रकाशमान सिंहले पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौँडामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाली काँग्रेस बिपी, गणेशमान र गिरिजाप्रसाद कोइरालाको विचारबाट बाहिरिएको भन्दै अबको महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्ने बताउनुभयो ।

नेता सिंहले नेपाली काँग्रेस बिपी, गणेशमान र गिरिजाप्रसाद कोइरालाको बिचारबाट बाहिरिएको भन्दै अबको महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो । “अरूसँग प्रतिस्पर्धा गर्नु पर्ने पार्टी आन्तरिक किचलोमा फस्यो, बिपी, गणेशमान, जिपीको विचार अनुसार पार्टी चल्न सकेन, अब नेतृत्व फेरिनुपर्छ ।”  

नेता सिंहले नेपाली काँग्रेस पछिल्लो समय आन्तरिक किचलोमा फसेको बताउनुभयो । काँग्रेसले देशको नेतृत्व गर्नुपर्ने समयमा आफै आन्तरिक किचलोमा फसेको कारण देशले नै समस्या भोग्नु परेको भन्दै सिंहले नेतृत्व परिवर्तन गरी काँग्रेसलाई पुनः देशको अग्रणी तथा शक्तिशाली पार्टी बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका सह महामन्त्री प्रकाश शरण महत, पूर्व मन्त्री एवम् काँग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

पार्टीको बागमती प्रदेशको नेतृत्व चयन गर्ने अधिवेशनमा मङ्सिर १७ गते (भोलि) मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ । अधिवेशनमा प्रदेशका १३ जिल्लाका करिब १९ सय प्रतिनिधिको सहभागिता रहेको छ । 

नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदमा तीन जनाले उम्मेदवारी दिने तयारी रहेको छ । सभापतिमा शेरबहादुर देउवा पक्षबाट काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदिशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौँका पूर्व सभापति भीमसेनदास प्रधान रहेका छन् । 

अधिवेशनको नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button