तपाईँ सुन्दै हुनुहुन्छः

बिपीको विचार र अग्रजको योगदान सम्झेर काँग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छ : सभापति देउवा

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरूको योगदानलाई स्मरण गरेर सबैले काँग्रेसलाई सुदृढ र बलियो बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । 

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेशहरूमा पहिलो पटक प्रदेश अधिवेशन सुरु भएको छ । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईँहरूले काँग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।”

लोकतन्त्र स्थापना र पुनः स्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाहरूमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँले जननायक बिपी कोइरालाले छाडेर जानुभएको विचार अनि अन्य अग्रज नेताहरूको योगदानलाई स्मरण गरेर अब सबैले काँग्रेसलाई सुदृढ र बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले काँग्रेसले सबै ठुला परिवर्तनको नेतृत्व गरेको र समृद्धिको पूर्वाधार खडा गरेको उल्लेख गर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने सबैको दायित्व भएको बताउनुभयो । 

सो अवसरमा उहाँले प्रथम प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागी सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button