तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी विश्वविद्यालयले बौद्ध दर्शन विश्वभर फैलाउन महत्त्वपूर्ण खेलिरहेको छ : राष्ट्रपति भण्डारी


 

भैरहवा । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध दर्शन विश्वभर फैलिरहेको बताउनुभएको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा आयोजित प्रथम त्रियान सम्मेलन कार्यक्रममा बोल्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा रहेको लुम्बिनी विश्वविद्यालयले बौद्ध दर्शन विश्वभर फैलाउन महत्त्वपूर्ण खेलिरहेको बताउनुभयो । 

“२६ सय वर्षदेखि एसिया महाद्विपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको छ ।”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमको रुपमा समावेश गर्दै आइरहेका छन् ।”

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा प्रथम त्रियान सम्मेलन र केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालिन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्न सकेको खण्डमा लुम्बिनी विश्वविद्यालयको बहु आयामिकता थप अभिवृद्धि हुने बताउनुभयो । यसबाट हाम्रो महान् बौद्ध सम्भाव्यताको बिरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।

 

प्राज्ञिक विकासको पूर्व सर्त विश्वविद्यालयहरूको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले विश्वविद्यालयमा विशुद्ध प्राज्ञिक वातावरण कायम गरी राज्यका लागि आवश्यक दक्ष जनशक्तिको उत्पादन गर्न पाठ्यक्रमलाई अनुसन्धान केन्द्रित बनाउनुपर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षा बिना कुनै देशले प्रगति गर्न नसक्ने बताउनुभयो । 

प्रदेश प्रमुख शेरचनले गौतम बुद्धको शान्तिको सन्देश विश्वभर फैलिएको बताउनुभयो । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बौद्ध विश्वविद्यालयमा थप कार्यक्रम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बौद्ध दर्शन र शिक्षालाई अगाडी बढाउन दुरदृष्टीका कार्यक्रममा सहयोग गर्नुका साथै विश्वविद्यालयको प्रगतिको निम्ति निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

कार्यक्रममा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी विश्वविद्यालय विशिष्ट खालको विद्यालय भएको बताउनुभयो । 

उहाँले देशका दुनियाँका धेरै बिद्यार्थीहरुलाई आकर्षण गरिरहेको बताउनुभयो । यसलाई आधुनिक विश्वविद्यालय बनाउनका लागि देबदहमा अघिल्लो सरकारले जग्गा उपलब्ध गराएको उहाँले बताउनुभयो । 

उहाँले संसारका बिद्यार्थीहरुलाई आकर्षण गर्ने खालको विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो । दुनियाँकै बुद्धिजम आधिकारिक विश्वविद्यालय बनाउनुपर्ने बताउनुहुँदै उहाँले संसारकै एक मात्र ठाउँ यही मात्रै भएको भन्नुहुँदै ६ अरब मान्छेको आकर्षक ठाउँ भएको बताउनुभयो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएको लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले जानकारी दिनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button