तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृति र संस्कृतिको विनाश गरेर विकास असम्भव : राष्ट्रपति भण्डारी

कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिको विनाश गरेर विकास सम्भव नहुने बताउनुभएको छ । 

कपिलवस्तुको बाणगंगा– २ नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा चुरे पर्वतको विनाश भइरहेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै उहाँले चुरे क्षेत्रको संरक्षण गरी विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 


हेलिकप्टरमार्फत कपिलवस्तु आउनुभएका राष्ट्रपति भण्डारीले १ सय २७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका दुई वटा प्रवेशद्वार, अष्ट चिरञ्जीवी मूर्ति र विश्रामलयको अनावरण तथा दुर्गा मन्दिरको पूजा अर्चना पनि गर्नुभएको छ ।  

राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरुकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।  

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउन आग्रह गर्नुहुँदै राष्ट्रपति भण्डारीले राज्यले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो । 

राष्ट्रपति भण्डारीलाई कैलाश आश्रमको अवलोकन तथा दर्शनको क्रममा आश्रम सञ्चालक समिति, अध्ययनरत बटुकहरूले बाजागाजाले स्वागत तथा सम्मान गरिएको थियो । 

राष्ट्रपति आउने भएपछि बुधवारदेखि नै कपिलवस्तुको सुरक्षा व्यवस्था कडा पारिएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button