तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा बाघ आतङ्क : एक हप्तामा चार पशुचौपाया खायो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतङ्क ले स्थानीयमा त्रास बढाएको छ । बाँदर, दुम्सी , बदेंल आतङ्कबाट हैरानी सहँदै आएका यहाँका नागरिकलाई बाघ लगायत अन्य वन्यजन्तुले सताउन थालेपछि स्थानीय चिन्तित भएका हुन् । 


गए राती एउटा लैनो भैँसी खाएको बाघले एक हप्तामा गोठमा बाँधिरहेकै अवस्थामा  गोरु,बाख्रा, गाई लगायत अन्य घरपालुवा पशुहरू खाएपछि किसानहरू चिन्तित भएका हुन् । बाघ गाउँमा पस्न थालेपछि स्थानीय समसाँझै घरभित्र बस्न बाध्य  छन् । 

मेलम्ची ९ ज्यामिरे लगायत आसपासका क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीय सुनिल कुमार भण्डारीले जानकारी दिनुभयो । धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ,   विद्यालय जाने स–साना बालबालिका पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको उहाँले बताउनुभयो । ‘गोठमै आएर गाईबस्तु  खान थालेपछि मानिसमा त्रास बढ्नु स्वाभाविक भएको’ स्थानीयले बताएका छन् । घरघरमा बाघ आउन थालेपछि विद्यार्थी विद्यालय जान समेत डराइरहेका छन् । घरदेखि विद्यालय जान धेरै डर लाग्ने गरेको विद्यार्थी सुजन भण्डारीले गुनासो गर्नुभयो । ‘बाघ कतै  लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ ।’ भण्डारीले भन्नुभयो  ‘साँझ ६्/७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तरबार लगायत अन्य उपाय गर्दै आए पनि सफल नभएको उनीहरूको भनाई छ । सम्पत्तिको नाममा रहेको एउटा भैँसी पनि बाघले खाएपछि मेलम्ची ९ का ओम बहादुर भण्डारी चिन्तित हुनुहुन्छ । उहाँ समस्याको दिगो समाधानको लागि स्थानीय तह लगायत सरोकारवाला निकायसँग गुहार मागिरहनुभएको छ । वडा अध्यक्ष कमल बहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने बताउनुभयो । उहाँले दिगो समाधानका लागि  पहल गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button