तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण केबलकारको परीक्षण सञ्चालन

कास्की । पोखरामा निमार्ण भएको अन्नपूर्ण केबलकार परीक्षण सञ्चालनमा आएको छ । 

पोखरा–१८ सेदीबाट सराङकोट जाने गरी निर्माण गरिएको केबलकारको बुधवारदेखि परीक्षण सञ्चालनमा आएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण गरिएको त्रिपाठीको भनाइ छ ।

केबलकारमा जडान भएका गोन्डला ९ यात्रु बोक्ने डिब्बा र टावरहरूको परीक्षण गर्न जापानबाट आएको ७ सदस्यीय प्राविधिक टोलीले परीक्षण सञ्चालनमा ल्याएको हो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै प्रकारको चरण पार गरेपछि मात्र व्यावसायिक रुपमा सञ्चालन गरिने र अहिले लोड परीक्षणको काम भइरहेको त्रिपाठीले बताउनुभयो ।

पर्यटकीय क्षेत्र सराङकोटमा केबलकार सञ्चालन हुँदा पर्यटकीय गतिविधि बढ्ने विश्वास लिइएको पर्यटन व्यवसायी नारायण जिसीले बताउनुभयो ।

२.४ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन् । प्रतिडिब्बा ८ जनाको सिट क्षमता रहने छ । केबलकार सञ्चालनमा आउँदा २५ जना भन्दा बढिले रोजगारी पाउने छन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेस्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भएको छ ।

केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने छ । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जङ्गल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ । केबलकार निर्माण भएकाले फेवातालको किनार सेदी बगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिनेछ ।

पोखराको युवा व्यवसायी अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङसहितको टोलीले ४ वर्षअघि केबलकार निर्माण सुरु गरेको थियो । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button