तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौँ । कप्तान देव खनाल र आकाश त्रिपाठीको शतकीय साझेदारी तथा स्पिनर बसिर अहमदको उत्कृष्ट बलिङको सहयोगमा लुम्बिनी प्रदेश यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । 

लुम्बिनीले आफ्नो लिगको अन्तिम खेलमा प्रदेश २ लाई ९ विकेटले हराउँदै शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनायो ।

१ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २६.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश दुई ३९.५ ओभरमा १ सय ६८ रनमा अल आउट भएको थियो । 

लुम्बिनी पहिलो खेलमा गण्डकीलाई ९ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा कर्णाली प्रदेशसँग १ सय ४० रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यसपछि लगातार चार जितका साथ लुम्बिनीले फाइनलमा स्थान पक्का गर्‍यो । 

सुदूरपश्चिमलाई २ विकेट, बागमतीलाई ३ विकेट र प्रदेश १ लाई ६ विकेटले हराएको थियो । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अङ्क जोड्दै शीर्षस्थानमा छ ।

स्पिनर शेर मल्ल र नरेन्द्र साउदको उत्कृष्ट बलिङको सहयोगमा सुदूरपश्चिम प्रदेशले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ माथि ६ विकेटको सहज जित हात पारेको छ । यो जितसँगै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिँदै शीर्ष दुईमा रहेर फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

९१ रनको सामान्य विजयी लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । 

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश एक २४ ओभरमा ९० रनमा अल आउट भएको थियो । सुदूरपश्चिमका शेर मल्लले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । नरेन्द्र साउदले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए । 

कैलाश ऐरीको नाममा २ विकेट रह्यो । सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । सुदूरपश्चिमले लिगको अन्तिम खेलमा बागमती प्रदेश सँग शुक्रवार टियु क्रिकेट मैदानमा खेल्नेछ । खेलमा फराकिलो जित निकालेको खण्डमा फाइनलमा पुग्नेछ । तर जितले मात्र पुग्ने छैन । प्रदेश १ को नतिजा पर्खनु पर्छ । 

प्रदेश एक ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अङ्कका साथ तेस्रो स्थानमा छ । प्रदेश १ ले अन्तिम खेल बिहीबार टियुमा गण्डकीसँग खेल्नेछ । खेलमा प्रदेश १ फराकिलो जितका साथ शीर्ष दुईमा स्थान बनाउन चाहन्छ । 

अन्तिम खेलमा प्रदेश १ र सुदूर पराजित भएको खण्डमा बागमती, गण्डकी र प्रदेश २ को झिनो सम्भावना कायम रहनेछ । नेट रन रेटको आधारमा एक टोली फाइनलमा पुग्नेछ ।

बागमती, गण्डकी र प्रदेश २ समान ५ खेलमा समान नतिजाका साथ ४–४ अङ्क भए पनि नेट रन रेटमा क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । कर्णाली ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहँदै बाहिरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button