तपाईँ सुन्दै हुनुहुन्छः

निर्माण कार्य छिट्टो सम्पन्न गर्न प्राधिकरणको ताकेता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन रसुवागढी, सान्जेन र माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । 

प्राधिकरणले १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य छिट्टो सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता गरेको हो ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणको समेत लगानीमा निर्माण भइरहेका आयोजनाहरू सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका ती आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल गरेको हो ।

भूकम्प, भारतीय नाकाबन्दी जस्ता अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्य सम्पादन, बाढी पहिरो, कोभिड–१९को महामारी लगायतका कारणले आयोजनाहरूको निर्माण प्रभावित हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण स्थलको अनुगमन मार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिट्टो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । 

चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले तीन वटै आयोजनाहरूको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाउनु भएको थियो ।

‘मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न भइसकेकाले सर्वसाधारणको समेत लगानी रहेका त्यस्ता आयोजनाहरूको निर्माण यथाशक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ’, घिसिङले भन्नुभयो, ‘बाँकी रहेका कामहरू समानान्तर रुपमा अगाडि बढाएर ७/८ महिनाभित्रमा काम सम्पन्न गर्न पनि घिसिङले निर्देशन दिनुभयो ।

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्राउने पोखरी, सुरुङ लगायतका सिभिल संरचनाको निर्माण र गेट, पेन स्टक पाइपजस्ता हाइड्रो मेकानिकल उपकरणहरू जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।

माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रूप दिने काम भइरहेको छ । विद्युत् गृहका उपकरण रहने संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

दुवै आयोजनाका इलेक्ट्रो मेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण र सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरू चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । 

निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरू मङ्गलवार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरूले उपकरणहरू जडान सुरु गर्ने छन् । प्रसारण लाइनको टावरहरू निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ ।

रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणहरूको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ  इलेक्ट्रो मेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रो मेकानिकलका ९९ प्रतिशत उपकरणहरू आयोजना स्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।

‘इलेक्ट्रो मेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको हो, उपकरण जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रुपमा काम गरी ८/९ महिनाभित्र सक्नुहोस् ठेकेदारले व्यहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्ने छौँ’ घिसिङले भन्नुभयो ।

तीन वटै आयोजनाहरूको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सब स्टेसनमा जोडिने छ । चिलिमे  तथा त्रिसूली थ्री बी हब सब स्टेसन र चिलिमे–त्रिसूली थ्री बी हब सब स्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य नेपाल विद्युत् प्राधिकरणले लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button