तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग वाणिज्य महासङ्घ र त्रिवि स्कुल अफ म्यानेजमेन्टबिच सहकार्य हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले एक आपसमा संस्थागत सहकार्यका लागि ऐक्यबद्धता जनाएका छन् । 

सहकार्यका लागि दुवै संस्था इन्डस्ट्री अकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन् । 

आइतबार महासङ्घ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले विश्वविद्यालय र महासङ्घ बिच बलियो सहकार्य हुन सक्यो भने मुलुकले देखेको समृद्धिको सपना साकार पार्न सकिने बताउनुभयो ।

महासङ्घले साना तथा मझौला उद्योग, स्टार्टअप, मेडइन नेपाल जस्ता अभियानलाई विशेष जोड दिई अगाडि बढाएकाले त्यसका लागि दक्ष आवश्यक जनशक्ति विकासमा त्रिविबाट ठूलो सहयोग हुन सक्ने अध्यक्ष गोल्छाले बताउनुभयो । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे र विश्वविद्यालय अनुदान आयोगका पूर्व सदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डाक्टर देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताउनुभयो । 

कार्यक्रममा महासङ्घका तर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा लिडर तयार गर्ने गरी शैक्षिक कोर्स संशोधन गर्नुपर्ने सुझाव दिइएको थियो । शैक्षिक कोर्स संशोधन गर्दा शिक्षालाई व्यवहार उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, विदेशी केश स्टडीमा भन्दा नेपाली सन्दर्भमा केश स्टडीमा जोड, आपूर्ति शृङ्खलाको व्यवस्थापन, इकमर्सलाई उच्च प्राथमिकता, इन्भेन्टरी म्यानेजमेन्ट, नेगोशिएसन, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइशिस लगायतका विषयलाई समेत समेट्नु पर्ने सुझाव निजी क्षेत्रबाट दिइएको थियो । 

वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष अञ्जन श्रेष्ठले लक्ष्मी र सरस्वतीको यो संयुक्त प्रयासलाई सफल पार्न सकियो भने प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिङ्गो राष्ट्रले नै लाभ उठाउन सक्ने विश्वास प्रकट गर्नुभयो । 

कार्यक्रममा सहायक प्राध्यापक डा. गङ्गाराम विश्वकर्मा, सहायक प्राध्यापक डाक्टर ध्रुवलाल पाण्डे, सहायक प्राध्यापक डाक्टर जितेन्द्र डङ्गोलले नयाँ कोर्स अफ स्टडीका बारेमा जानकारी गराउनुभएको थियो ।

महासङ्घको वस्तुगत परिषद्का सहसभापतिद्वय अरनिको राजभण्डारी र सुनिल गोपाल श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका कामु निर्देशक डा. गोविन्द तामाङले दुवै संस्था बिचको सहकार्यले मुलुकको अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button