तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशन : निर्वाचन र सहमतिका दुवै अभ्यासको उच्च प्रयोग

सौराहा । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिको दुवै अभ्यासको उच्चतम प्रयोग गरिएको छ । महाधिवेशन मार्फत एकताको सन्देश दिन दुवै प्रक्रियाको उच्चतम प्रयोग गरिएको हो । 

शनिवारदेखि सौराहामा जारी बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते हलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको नामावली प्रस्ताव गर्ने जिम्मा दिएको थियो । त्यसका लागि आइतबार दिनभर अध्यक्ष ओलीले पार्टी नेताहरूसँग परामर्श र छलफल गरी मङ्सिर १२ गते ढिला गरी सुरु भएको बन्दसत्रमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली प्रस्तुत गरेपछि हलले समर्थन गरेको थियो ।

देशभरबाट सहभागी प्रतिनिधि र कार्यकर्ताको दबाब पनि सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्नेमा थियो । उनीहरूले बन्दसत्र स्थल बाहिर नाराबाजी गरेर समेत दबाब दिएका थिए । अध्यक्ष ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित  ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउँदा अध्यक्षका उम्मेदवार डा.भीम रावलले असहमति जनाउँदै निर्वाचनमा जानु नै उत्तम हुने बताउनुभयो । सोही अनुसार निर्वाचन कार्य तालिका सार्वजनिक गरियो ।

पदाधिकारीमा हलमा प्रस्ताव गरिएको सूची अनुसार उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसै गरी, उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ  र  विष्णु पौडेलले हलको सहमति अनुसार उम्मेदवारी दिनुभएको छ भने त्यसका अतिरिक्त नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि सो पदमा निर्वाचन हुने भएको छ । 

महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल हलमा प्रस्तावित उम्मेदवार हुनुहुन्छ भने भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको हो । केन्द्रीय सदस्यमा पनि कतिपय सर्वसम्मत भइसकेको छ । बाँकीमा मतदान हुनेछ ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्षका उम्मेदवार भुसालले लोकतान्त्रिक अभ्यासको पार्टी एमाले कहिलेकाहीँ खासखास कारणले अलमलमा पर्ने गरे पनि एमाले नै समृद्ध परम्पराको लोकतान्त्रिक शक्तिलाई बचाउँछ भन्ने उदाहरण हामीले पेस गर्दै आएका छौँ भन्नुभयो । उहाँले पार्टीभित्र क्रान्तितर्फ अगाडि बढेका त्यागी कार्यकर्ता लखेटिने र सुविधा भोगी पक्ष आउने गरेको स्थिति रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । आम रुपमा यी असहमति बीच विधान महाधिवेशन यता वैचारिक पक्षमा कुनै मतभेद नरहेको उहाँको भनाइ छ । “गत नवौँ महाधिवेशनको मुख्य खराबी समूहगत उम्मेदवारी थियो”, उहाँले भन्नुभयो, “त्यसको मैले विरोध गरेको थिए । यस पटक व्यक्तिगत रुपमा उम्मेदवारी दिएका छौँ ।”

यस्तै उपमहासचिवमा निर्वाचित विष्णु रिमालले मन मिलेर एकै प्यानल बनाउने कोसिस गरेको भन्दै प्रतिस्पर्धा गर्ने गुट बनाइए मान्य नहुने बताउनुभयो । उहाँले समूहगत रुपमा लाग्नेहरू पार्टीमा टिक्न नसक्ने धारणा राख्नुभयो । उम्मेदवारी मनोनयन दर्ता भइसकेकाले अव कसैलाई पनि मनाउने कोसिस नगरिने उहाँको भनाइ छ ।

उपमहासचिवमा निर्वाचित पृथ्वी सुब्बा गुरुङले विगतमा पार्टी एकताका लागि गरिएको १० बुँदे सहमतिका पक्षधर पूर्व माओवादीबाट आएका नेताहरू सबैको व्यवस्था गरी समावेशी र एकताबद्ध नेतृत्व चयन गर्नुपर्ने भएकाले हलले सहमतिको म्याण्डेड दिएको बताउनुभयो । उहाँले सोही बमोजिम उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

एमाले प्रचार कमिटी सहसंयोजक सूर्य थापाले सहमतिको अधिकतम प्रयास गरी मतदानको पनि अभ्यास गरिएको बताउनुभयो । उहाँले अध्यक्षले हलले दिएको जिम्मेवारी पुरा गरेको भन्दै भीम रावलहरू विग्रहको तहमा आउन नहुने धारणा राख्नुभयो । निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाका अनुसार दर्ता भएका मनोनयन सूचीहरूलाई छानबिन र दाबी विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको नामावली प्रकाशन पश्चात् कम्तीमा १२ घण्टा पछि विद्युतीय मेसिनमा तथ्याङ्क अपडेट हुने भएकाले सम्भव भए राति नै र नभए बिहान मतदानको काम सुरु हुने जानकारी दिनुभयो । 

मतदान भएको तीन घण्टाभित्र परिणाम आइसक्ने उहाँले बताउनुभयो । मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुनेछ । मतदानको जिम्मा लिएको रामलक्ष्मण इनोभेसन्सका विद्युतीय मेसिनका प्राविधिक सल्लाहकार डा. नन्दविक्रम अधिकारीले मतदानका लागि विद्युतीय मेसिन तयारी अवस्थामा रहेको बताउनुभयो । कतिपय पदमा सर्वसम्मत भइसकेकाले ७२ वटा मेसिन मात्र प्रयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अधिकारीले मतदानका लागि एक सय मेसिन ल्याएको बताउनुभयो ।

सबै मेसिनहरू तयारी अवस्थामा राखिएको छ । भोट खसाल्नका लागि मेसिनहरूको बुथ राखिएको छ । केही मेसिनहरू बाहिर प्रतिनिधिहरूलाई सिकाउनका लागि राखिएको छ । एमाले महाधिवेशनमा दुई हजार २८७ प्रतिनिधि रहेका छन् । निर्वाचन कार्य तालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button