तपाईँ सुन्दै हुनुहुन्छः

सेवा सुविधा पाउनुपर्ने माग गर्दै नगरपालिकामा धर्ना

सल्यान । सरकारले निर्धारण गरेको सेवा सुविधाको माग गर्दै बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरूले सल्यानको शारदा नगरपालिकामा धर्ना दिएका छन् । 

सङ्घीय सरकारको बजेट वक्तव्य र परिपत्रको पालना नगरपालिकाले नगर्दा आफूहरू आन्दोलित हुनुपरेको बाल विकास शिक्षक समिति अध्यक्ष शान्तिप्रभा पुरीले बताइन् । 

हाल पाउँदै आएको ६ हजार तलबमा दुई हजार केन्द्र सरकारले र बाँकी ७ हजार सम्बन्धित स्थानीयले तहले थप गरेर १५ हजार दिने भनिए पनि लागु नभएपछि धर्नामा बस्न बाध्य भएको उनको भनाई छ । 

नगरपालिकाले आफूहरूको माग सम्बोधन गरेसम्म पठनपाठन कार्य बन्द गरिने विद्यालय कर्मचारी वीर बहादुर भण्डारीले बताए । स्थानीय तहको लापरबाहीका कारण आफूहरूले पाउनु पर्ने सेवा सुविधाबाट वञ्चित भएको उनको दुखेसो छ । 

बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न नसकिने शारदा नगरपालिकाले जनाएको छ । नगरको आर्थिक स्रोत कम भएकाले शिक्षक र कर्मचारीहरूको माग सम्बोधन गर्न समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले बताए । 

नगरपालिकामा बाल विकास शिक्षक, विद्यालय कर्मचारी र कार्यालय सहयोगी १ सय ३२ जना रहेका छन् । नगरका बाल विकासमा ३ सय ५६ बालिका र ४ सय १० बालक गरी ७ सय ६६ बालबालिकाले अध्ययन गरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button