तपाईँ सुन्दै हुनुहुन्छः

बार्बाडोसबाट पनि हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

काठमाडौँ । विश्वका राजतन्त्रात्मक देशहरू मध्ये बार्बाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ । क्यारेबियन राष्ट्र बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो । बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो मुलुक अब विश्वमै सबैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ । 

बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चाल्र्स बार्बाडोस पुग्नु भएको छ । बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छ । हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गर्नु भएको हो । 

सोमबारदेखि मङ्गलवारसम्ममा गर्ने गरी सैनिक परेडदेखि विभिन्न झाँकी सहितका भव्य कार्यक्रम आयोजना गरिने भएका छन् । सङ्क्रमणकालीन यस समारोहमा राजकुमार चाल्र्सले बार्बाडोससँगको बेलायतको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा सम्बोधन गर्नुहुने अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

बार्बाडोसमा करिब दुई लाख ८५ हजार जनसङ्ख्या छ । सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथा कायम थियो । सन् १९६६ मा भने बार्बाडोस बेलायती उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्र बनेको थियो, तर बार्बाडोसको राज्य प्रमुख (हेड अफ स्टेट) बेलायतकी महारानी हुने प्रचलन कायम थियो । 

गत अक्टोबरमा बार्बाडोसमा भएको निर्वाचनमा मेसोनले राष्ट्रपतिका रुपमा विजय हासिल गर्नु भएको थियो । बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्लेले देशले औपनिवेशिक विगतलाई पूर्ण रुपमा त्याग्ने घोषणा गर्नु भएको थियो । तर बार्बाडोसको अर्थतन्त्रको मूल आधार पर्यटन रहेको र यसमा बेलायती पर्यटकको सङ्ख्या अधिक रहेकाले पनि बेलायतसँगको सम्बन्ध अझै पनि जरुरी पर्ने धेरै बार्बाडोसी जनताको मत छ । तर बेलायती उपनिवेशको अवशेष पूर्ण रूपले अन्त गरेकामा आम जनताले खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री मोट्लेले बेलायती राजकुमार चाल्र्सलाई आमन्त्रण गरी “अर्डर अफ फ्रिडम अफ बार्बाडोस” ले सम्मान गर्न लागेको भन्दै आलोचना पनि भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button