तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरीको हेलिकप्टरबाट उद्धार

अछाम । अत्यधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको अछाम जिल्लाबाट हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १० घुघुरकोटकी २० वर्षीया सम्झना बिकको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

बिकको सुत्केरी पश्चात् अत्यधिक रगत बग्न थालेपछि आकस्मिक रेफर गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताउनुभयो ।

आइतबार साँझ सुत्केरी बेथा लागेपछि बिकका परिवारले उहाँलाई बयालपाटा अस्पताल पुर्‍याएका थिए । आज बिहान उहाँले छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी पश्चात् रगत बग्न नरोकिएपछि उहाँलाई रेफर गर्नुपर्ने अवस्था आएको डा. पाठकले बताउनुभयो ।

“अस्पतालमा हामीले ४ प्वाइन्ट रगत जम्मा गरेर उनलाई रगत चढायौँ” उपचारमा संलग्न डा. दिल शाही रोकाले भन्नुभयो– “रगत बग्ने क्रम नरोकिएपछि रेफर गर्नुको विकल्प रहेन ।” गम्भीर अवस्था भएका कारण उनलाई तत्काल रेफर गरिएको डा. रोकाको भनाई छ ।

बिकको उमेर २० बर्ष भएको छ । डा. रोकाले भन्नुभयो–“कम उमेरमै विवाह गर्नुले पनि यस्ता प्रकारका समस्या आउने गरेको छ । कम उमेरमै विवाह गर्ने परम्पराका कारण दुर्गममा अकालमै गर्भवती तथा सुत्केरी अवस्थामा महिलाले ज्याउन गुमाउनु परिरहेको छ ।”

सम्झनालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेज लगिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो । जटिल अवस्थामा रहेका महिलाको यसरी उद्धार हुँदै आएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button