तपाईँ सुन्दै हुनुहुन्छः

घरदैलोमै निःशुल्क विशेषज्ञ उपचार पाउँदा स्थानीय दङ्ग

जाजरकोट । गाउँघरतिर धेरै मानिस सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । त्यस्ता व्यक्तिलाई कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपाल पोखरा १६ कास्कीले जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकाका बासिन्दालाई गाउँमै निःशुल्क उपचार थालेको छ । 

गाउँमै विभिन्न रोगको निःशुल्क उपचार तथा औषधी वितरण भएपछि गाउँले खुसी दङ्ग भएका हुन् । दुर्गममा बिरामी पर्दा राम्रा अस्पताल र विशेषज्ञ डाक्टरसम्म पुग्नै कठिन हुन्छ । अस्पताल र विशेषज्ञ डाक्टरको पहुँच बाहिर रहेका स्थानीयवासी घरदैलोमै निःशुल्क उपचार पाउँदा ज्यादै खुसी भएका छन् । अस्पताल जान सक्ने अवस्था नभएका गाउँलेले घर आगमनै विशेषज्ञ डाक्टर आएर उपचार गरेपछि राहतको अनुभूति गरेका छन् । 

आठ बर्ष अघि मोतीबिन्दु रोगले दुवै आँखाको ज्योति गुमाएका बारेकोट ४ जिरीका ७७ वर्षीय धनबहादुर सार्की उपचार पछि नयाँ संसार देख्न पाएको बताउनु हुन्छ । त्यस्तै तीन बर्ष पहिले आँखाको ज्योति गुमाएकी बारेकोट ३ मुलसामकी ६० वर्षीया रतनकला शाही लगायत आँखाका धेरै बिरामीले उपचार पछि नयाँ सन्सार देख्न पाएका छन् । 

धेरैले घर आगमनै भएको शिविरमा निःशुल्क उपचार पाउँदा निकै खुसी भएका छन् ।  सामान्य उपचारको लागि पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता हुन्छ, अहिले गाउँमै सेवा पाउँदा एकदमै खुसी लागेको शिविरमा सेवा लिन आएका भीमबहादुर सिंहको भनाइ छ ।

बारेकोट गाउँपालिकाको अनुरोध समन्वय तथा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपाल पोखरा १६ कास्कीको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर यही मङ्सिर १० गते देखि १३ गते सम्मका लागि बारेकोट –२, लिम्सामा सञ्चालन भइरहेको छ । बिकट वस्तिका २ हजार बढी जनताहरूलाई महत्त्वपूर्ण स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर गरिएको क्याम्प इन्चार्ज राजन राईले बताउनु भयो । 
शिविरमा स्त्री रोग सम्बन्धी जाँच तथा उपचार,आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार, चिकित्सकको सल्लाह अनुसार निःशुल्क औषधी वितरण गरिएको छ । शिविरमा मेडिकल स्टाफ  २३ जना तथा अन्य १४ जना गरी ३७ जना स्वास्थ्यकर्मीहरू खटिएका छन् । 

कमजोर आर्थिक अवस्थाले उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी गरिएको शिविरले गाउँवासीलाई धेरै सहज भएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । 

शिविरमा पोखरा, काठमाडौँ लगायत अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकले स्वास्थ्य चेकजाँचसहितको सेवा दिएका छन् । तेस्रो दिनसम्म १२ सय बढीले सेवा लिएका छन्, अध्यक्ष शाहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button